3
त्‍यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पूजाहारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर ।
2 जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्‍वरप्रति विश्‍वास योग्य हुनुहुन्‍थ्यो, जसरी मोशा पनि परमेश्‍वरको घरानामा विश्‍वासयोग्य थिए ।
3 परमेश्‍वरले मोशालाई भन्‍दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्‍दा घर बनाउनेको बढी आदर हुन्‍छ ।
4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्‍छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्‍छ ।
5 एकातिर, मोशा परमेश्‍वरका सारा घरानामा विश्‍वासयोग्य सेवक जस्‍तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए ।
6 तर परमेश्‍वरको घरानाको जिम्मा पुत्र ख्रीष्‍टले लिनुभएको छ । यदि हामी निश्‍चयतासाथ उहाँलाई पक्री रहन्‍छौँ भने हामी गर्वसाथ भन्‍न सक्छौँ, कि हामी उहाँका घराना हौँ ।
7 त्‍यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्‍छ, “आज, यदि तिमीले उहाँको सोर सुन्‍यौ भने,
8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरे जस्‍तै तिमीहरूका हृदयलाई कठोर नपार ।
9 चालीस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे ।
10 त्‍यसकारण म त्‍यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’
11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।”
12 भाइहरू हो, होशियार बस । त्‍यसैले, तिमीहरूमध्‍ये कोही पनि दुष्‍ट हृदय र अविश्‍वासी नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस् ।
13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्‍यसकारण, तिमीहरूमध्‍ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।
14 यदि हामीले सुरुदेखि अन्‍त्‍यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्‍चयतासाथ बलियोसँग पक्री राख्यौँ भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्‍छौँ ।
15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्‍यौ भने, विद्रोहमा गरे जस्‍तै तिमीहरूले हृदय कठोर नपार ।”
16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे ? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र ?
17 जोसँग उहाँ चालीस वर्षसम्म रिसाउनुभएको होइन र ? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र ?
18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र ?
19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।