2
त्‍यसकारण, हामीले जे सुनेका छौँ त्‍यसमा हामीले सबै भन्‍दा बढी ध्‍यान दिनुपर्छ । त्‍यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
2 यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्‍देशको मान्‍यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र
3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र ? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्‍यो पक्‍का गरियो ।
4 त्‍यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्‍छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन ।
6 त्‍यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्‍यसको ख्याल गर्नुहुन्‍छ ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्‍छ ?
7 तपाईंले मानिसलाई स्वर्गदूत भन्‍दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ ।
8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ ।
9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूत भन्‍दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्‍छ । किनभने उहाँका दुःख र मृत्‍युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्‍यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्‍यु चाख्‍नुभयो ।
10 यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।
11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्‍यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न ।
12 उहाँ भन्‍नुहुन्‍छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।”
13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।”
14 त्‍यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्‍यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्‍यसैले, येशूले मृत्‍यु सहेर मृत्‍युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो ।
15 मृत्‍युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्‍त्रता दिन उहाँले त्‍यसो गर्नुभयो ।
16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्‍न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्‍तानको हो ।
17 त्‍यसैले, उहाँका भाइहरू जस्‍तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्‍यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पूजाहारी हुनुभयो । त्‍यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो ।
18 किनभने येशू आफैँले दुःख भोग्‍नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्‍नुहुन्‍छ ।