2
यसकारण म मान्‍दछु, कि ख्रीष्‍टमा उत्साह छ । म मान्‍दछु, कि त्‍यहाँ आत्माको सङ्‌गति छ । म मान्‍दछु, कि उहाँको प्रेमबाट सान्‍त्वना मिल्दछ । म मान्‍दछु, कि त्‍यहाँ स्‍नेही करुणा र सहानुभूति छ ।
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्‍दलाई पुरा गर ।
3 स्वार्थ र रित्तो अहंकारमा केही नगर । बरु नम्रतामा आफूलाई भन्‍दा अरूहरूलाई उच्‍च ठान ।
4 आफ्ना आवश्यकताहरूमा मात्र ध्‍यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्‍यान लगाओ ।
5 त्‍यही शैलीमा विचार गर, जुन ख्रीष्‍ट येशूमा पनि थियो ।
6 उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्‍थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन ।
7 बरु, उहाँले आफैँलाई रित्त्‍याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो ।
8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्‍यु अर्थात् क्रुसको मृत्‍युसम्मै आज्ञाकारी हुनुभयो ।
9 यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँ भन्‍दा उच्‍च नाउँ दिनुभयो ।
10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू ।
11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्‍येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनी स्वीकार गरोस् ।
12 यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्‍तिको काम पुरा गर ।
13 किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्‍छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्‍छ ।
14 गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।
15 यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्‌कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्‍योतिझैँ चम्कन सक ।
16 जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्‍यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्‍ने म जान्‍नेछु ।
17 तर तिमीहरूको विश्‍वासको त्‍याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्‍द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्‍दित हुन्‍छु ।
18 त्‍यसै गरी, तिमीहरू पनि आनन्‍दित होओ, र मसँगै आनन्‍दित होओ ।
19 तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्‍दा म प्रोत्साहित हुन सकूँ ।
20 किनकि तिनको जस्‍तै मन भएको, र तिनी जस्‍तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन ।
21 किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरू भन्‍दा आफ्नै इच्‍छाको खोजी गर्दछन् ।
22 तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्‍यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् ।
23 यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु ।
24 तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु ।
25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्‍दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्‌गी सिपाही, र तिमीहरूका सन्‍देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
27 किनकि तिनी साँच्‍चै यति बिरामी थिए, कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए । तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।
28 यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्‍दित हुन सक र म चिन्‍ताबाट मुक्‍त हुनेछु ।
29 त्‍यसैले, सारा आनन्‍दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर ।
30 किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्‍युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।