फिलिप्‍पीहरूलाई पावलको पत्र
1
ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति ।
3 हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु ।
4 तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु ।
5 पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्‍यवाद दिन्‍छु ।
6 म यो कुरामा निश्‍चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पुरा गर्न निरन्‍तरता दिनुहुनेछ ।
7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
8 किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ ।
9 र मैले यस्तो भन्‍दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।
11 यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
12 भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्‍छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।
13 किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।
14 र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।
15 कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावले पनि ख्रीष्‍टको प्रचार गरेका छन् ।
16 प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जान्‍दछन् ।
17 तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।
18 त्‍यसो भए के त ? चाहे बहानामा होस् वा सत्‍यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्‍छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
19 किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।
20 मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्‍तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्‍युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु ।
21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।
22 तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन ।
23 किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बीचमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्‍छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।
24 तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।
25 यस कुरामा म निश्‍चित भएको कारणले म जान्‍दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्‍तरता दिनेछु ।
26 परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।
27 ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ । सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ ।
28 र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।
29 किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि ।
30 किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्‍दछौ, त्‍यही सङ्‌घर्ष तिमीहरूसँग छ ।