3
अन्‍त्‍यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्‍द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन । यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्‍नेछन् ।
2 कुकुरहरूदेखि होशियार रहो । खराब काम गर्नेहरूदेखि होशियार रहो । अङ्‌ग कटाइ गर्नेहरूदेखि होशियार रहो ।
3 किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
4 यद्यपि, म आफैँले शरीरमा भरोसा राख्‍न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्‍ने विचार गर्छ भने, त्‍यो भन्‍दा बढी म गर्न सक्छु ।
5 मेरो आठौँ दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्‍ये एक, बेन्‍यामीन कुलमा जन्‍मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिँ, एक फरिसी ।
6 मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ ।
7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु ।
8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्‍छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्‍यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्‍दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ,
9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ ।
10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्‍छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्‍छु । उहाँको मृत्‍युको समरूपतामा म बद्‌लिन चाहन्‍छु,
11 ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।
12 मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्‍छु ।
13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्‍दिनँ । तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु ।
14 म ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्‍छु ।
15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
16 तथापि, हामीले जे प्राप्‍त गरिसकेका छौँ, हामी त्‍यसमा अडिग रहौँ ।
17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्‍यान दिएर हेर ।
18 ती धेरै व्यक्‍तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ, र अहिले आँसुका साथ म बताउँदै छु, कि तिनीहरू ख्रीष्‍टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन् ।
19 तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् ।
20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा गर्दछौँ ।
21 उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्‍तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्‍तिद्वारा बनाइएको छ ।