5
त्‍यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
2 र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्‍थ्यो ।
3 जस्‍तो विश्‍वासीहरूका लागि उपयुक्त हुन्‍छ, तिमीहरूको बीचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।
4 नकि अश्‍लिलता, मूर्ख बोली वा अपमानजनक ठट्‌यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्‍यवाद दिने काम होस् ।
5 तिमीहरूले यो निश्‍चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्‍यो मूर्तिपूजक हो ।
6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।
7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।
8 किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्‍योति भएका छौ । यसैले ज्‍योतिका सन्‍तान जस्‍तै गरी हिँड ।
9 किनकि ज्‍योतिको फल सबै भलाइ, धार्मिकता र सत्‍यतामा हुन्‍छ ।
10 परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।
11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।
13 सबै थोक जब ज्‍योतिमा आउँछन्, तब ती प्रकट हुन्‍छन्,
14 किनकि प्रकट भएका सबै कुरा ज्‍योतिमा प्रकाशमान हुन्‍छन् । त्‍यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”
15 त्‍यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होशियार होओ, मूर्ख जस्‍तो होइन तर बुद्धिमान जस्‍तो ।
16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
17 मूर्ख नबन । बरु, प्रभुको इच्‍छा के हो, सो बुझ ।
18 र दाखमद्यले नमात्तीओ, किनकि त्‍यसले विनाशतर्फ डोर्‍याउँछ । तर त्‍यसको सट्टामा, पवित्र आत्माले भरिओ ।
19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।
20 येशू ख्रीष्‍टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्‍यवाद चढाओ ।
21 ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो ।
22 पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्‍तो आफ्ना पतिहरूको अधीनमा बस ।
23 किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्‍छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्‍छ ।
24 तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्‍यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्‍यसै गर्नुपर्दछ ।
25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्‍यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर ।
26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।
27 दागरहित वा चाउरी नभएको वा अन्‍य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्‍तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।
29 कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्‍छ ।
30 किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
31 “यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”
32 यो एउटा महान् गुप्‍त सत्‍यता हो, तर मैले ख्रीष्‍ट र उहाँको मण्डलीको बारेमा बताइरहेको छु ।
33 तथापि, तिमीहरू प्रत्‍येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्‍तै प्रेम गर्नुपर्छ, र पत्‍नीले पतिलाई सम्मान गर्नुपर्छ ।