गलातीहरूलाई पावलको पत्र
1
म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।
2 मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
3 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति होस्,
4 जसले हाम्रा परमेश्‍वर र पिताको इच्‍छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।
5 उहाँलाई नै सदासर्वदा महिमा होस् ।
6 तिमीहरू यति छिटै फरक सन्‍देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।
7 अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्‍छन् ।
8 तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्‍यो भन्‍दा बाहेक अरू कुनै सन्‍देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्‍यो श्रापित होस् ।
9 हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्‍दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्‍दा बाहेक तिमीहरूका सामु अर्को सन्‍देशको घोषणा गर्दछ भने, त्‍यो श्रापित होस् ।”
10 के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र ? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र ? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।
11 भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्‍छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
12 मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।
13 म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्‍यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।
14 म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरू भन्‍दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्‍यन्‍तै उत्साहित थिएँ ।
15 तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।
16 मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्‍तै शरीर र रगतको सल्लाह लिइनँ,
17 र म भन्‍दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्‍यसपछि दमस्कसमा फर्किएँ ।
18 अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्‍यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ ।
19 तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ ।
20 हेर, मैले जे लेखेको छु, परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन ।
21 त्‍यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ ।
22 ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ,
23 तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्‍यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”
24 मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए ।