2
तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ ।
2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ । यो त्‍यसको आत्मा हो, जो अनाज्ञाकारीताका सन्‍तानहरूमा काम गर्दछ ।
3 हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्‍छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्‍छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्‍तै स्वभावले क्रोधका सन्‍तान थियौँ ।
4 तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्‍छ ।
5 जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ ।
6 ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ ।
7 आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्‍छ ।
8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।
9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।
10 किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ ।
11 त्‍यसकारण यो कुरा सम्झ, कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौ । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे ।
12 किनकि त्‍यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौ । इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ । तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ । तिमीहरूको भविष्‍यको कुनै निश्‍चयता थिएन । तिमीहरू परमेश्‍वर बिना यस संसारमा थियौ ।
13 तिमीहरू एक समय परमेश्‍वरबाट टाढा भएकाहरू, अब येशू ख्रीष्‍टको रगतद्वारा ख्रीष्‍ट येशूमा परमेश्‍वरसँग नजिक ल्याइएका छौ ।
14 किनकि उहाँ हाम्रो शान्‍ति हुनुहुन्‍छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् ।
15 अर्थात्, उहाँमा नै एउटा नयाँ मानिस सृष्‍टि गर्न, उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो । उहाँले मिलाप गराउनुभयो ।
16 उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्‍वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो । क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो ।
17 येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्‍तिको घोषणा गर्नुभयो ।
18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।
19 त्‍यसकारण, तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्‍यको सँगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ ।
20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्‍ट येशू आफैँ कुने-ढुङ्‌गो हुनुहुन्‍छ ।
21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्‍छ र प्रभुमा एउटै मन्‍दिरको रूपमा बढ्दै जान्‍छ ।
22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।