10
भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्‍छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए ।
2 सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए,
3 र सबैले एउटै आत्मिक भोजन खाए ।
4 सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्‍यो चट्टान ख्रीष्‍ट हुनुहुन्‍थ्यो ।
5 तर तिनीहरूमध्‍ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।
6 तिनीहरूले जस्‍तै हामीले दुष्‍ट कुराहरूको इच्‍छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
7 तिनीहरूमध्‍ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
8 तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।
9 हामीले ख्रीष्‍टको परीक्षा गर्नु हुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्‍ट भए ।
10 तिनीहरूमध्‍ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्‍युको दूतद्वारा नष्‍ट भएका थिए ।
11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्‍त्‍य आएको छ ।
12 यसैकारण, कसैले म खडा छु भनी सोच्‍छ भने होशियार रहोस् ताकि ऊ नलडोस् ।
13 मानव-जातिमा आउने परीक्षा भन्‍दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्‍छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍ति भन्‍दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्‍यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्‍छ ।
14 त्‍यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
15 म समझदार मानिसहरूसित बोले जस्‍तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
16 हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र ? हामीले भाँच्‍ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र ?
17 रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्‍छौँ ।
18 इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र ?
19 त्‍यसो भए, म के भन्‍दै छु ? के त्‍यो मूर्ति कुनै कुरा हो ? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो ?
20 तर म अन्‍यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्‍दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन ! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ ।
21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबिलमा र भूतहरूको टेबिल दुवैमा सङ्‌गति गर्न सक्दैनौ ।
22 अथवा के हामीले प्रभुलाई डाही बनाउने ? के हामी उहाँ भन्‍दा बलिया छौँ ?
23 “हरेक कुरा न्‍यायसङ्‌गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्‍यायसङ्‌गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
25 तिमीहरूले बजारमा जे बेचिन्‍छ त्‍यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ ।
26 किनकि “पृथ्‍वी प्रभुको हो र त्‍यसमा भएका सबै कुरा उहाँकै हुन् ।”
27 तिमीहरूलाई विश्‍वास नगर्ने कुनै व्यक्‍तिले खानलाई निम्तो दिन्‍छ र तिमीहरू जान इच्‍छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्‍न नसोधी खाओ ।
28 तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्‍यो भने त्‍यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो ।
29 मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्‍तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्‍याय हुन किन दिने र ?
30 म कृतज्ञतासाथ खानामा सहभागी हुन्‍छु भने मैले धन्‍यवाद दिएको कुरामा म किन निन्‍दित हुने ?
31 त्‍यसकारण, तिमीहरूले जे खान्‍छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।
32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।
33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।