9
के म स्वतन्‍त्र छैनँ ? के म प्रेरित होइनँ ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र ?
2 म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ । तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ ।
3 यो मलाई जाँच्‍न खोज्‍नेहरूलाई जवाफ होः
4 के हामीलाई खाने र पिउने अधिकार छैन ?
5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरे जस्‍तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन ?
6 अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ?
7 कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ? कसले दाखबारी लगाएर त्‍यसको फल खाँदैन र ? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र ?
8 के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ? के व्यवस्थाले पनि यसै गर भन्‍दैन र ?
9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्‍छ ?
10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र ? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।
11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र ?
12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्‍यो भन्‍दा बढता हक छैन र ? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्यौँ ।
13 के मन्‍दिरमा सेवा गर्नेले मन्‍दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन र ?
14 त्‍यसरी नै सुसमाचार प्रचार गर्नेले त्‍यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो ।
15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु ।
16 मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ ।
17 किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ ।
18 त्‍यसो भए मेरो इनाम के हो ? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
19 किनकि म सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर म सबैको दास भएँ ।
20 यहूदीहरूलाई जित्‍नको लागि म यहूदी जस्‍तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्‍तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ ।
21 म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भए जस्‍तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ ।
22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा म सहभागी हुन सकूँ ।
24 दौडमा सबै मानिसहरू दौडिन्‍छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ? त्‍यसैले, पुरस्कार पाउने गरी दौड ।
25 एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्‍छ । तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्‍छौँ ।
26 त्‍यसैले, म बिनाउदेश्य वा हावामा दौडन्‍नँ ।
27 तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दास जस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।