13
हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् ।
2 यसकारण, जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्‍यसले परमेश्‍वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैमाथि दण्डको आज्ञा पाउनेछन् ।
3 असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्‍छ । के तिमी अधिकारीको डरमा रहन चाहँदैनौ ? जे असल छ त्‍यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ ।
4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।
5 यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।
6 तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्‍तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् ।
7 तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर ।
8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्‍यसले व्यवस्था पालना गरेको हुन्‍छ ।
9 किनकि, “तैंले व्यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लालच नगर्” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्‍छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर् ।”
10 प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्‍यसकारण, प्रेममा नै व्यवस्था पूरा हुन्‍छ ।
11 यसकारण, तिमीहरूले समय जान्‍दछौ, निन्‍द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ ।
12 रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्‍यसकारण, अन्धकारका कामहरू त्‍यागौं, र ज्‍योतिका हातहतियार धारण गरौं ।
13 उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्‍तै उचित तवरले हिडौं । अनि यौन अनैतिकता वा अनियन्‍त्रित कामवासनामा नहिँडौं, न त झगडा र ईर्ष्यामा नै हिँडौं ।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।