14
तापनि त्यसको मतसम्बन्धी कुराहरूमा वादविवाद नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर ।
2 एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्‍छ, अर्को जो कमजोर छ, त्‍यसले सागसब्जी मात्र खान्‍छ ।
3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् । अनि सबै थोक नखानेले सबै थोक खानेको न्‍याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ ।
4 अरूको नोकरको न्‍याय गर्ने तिमी को हौ ? यो त्‍यसको मालिकको सामु नै खडा हुन्‍छ वा पतन हुन्‍छ । तर त्‍यसलाई खडा गराइनेछ, किनकि प्रभु त्‍यसलाई खडा गराउन सक्षम हुनुहुन्‍छ ।
5 एक जनाले एक दिनलाई अर्को दिनभन्‍दा मूल्यको मान्‍छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्‍छ । हेरक आ-आफ्नै मनमा विश्‍वस्त होस् ।
6 जसले कुनै दिन पालन गर्छ, त्‍यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्‍छ, त्‍यसले प्रभुकै निम्ति खान्‍छ, किनकि त्‍यसले परमप्रभुलाई धन्‍यवाद दिन्‍छ । जसले खाँदैन, त्‍यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ ।
7 किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं ।
8 किनकि यदि हामी जिउँछौं भने, प्रभुकै निम्ति जिउँछौं र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्‍यसैले, हामी चाहे जिऔँ वा मरौं, हामी प्रभुकै हौं ।
9 यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।
10 तर तिमीहरू किन आफ्नो भाइको इन्साफ गर्छौ ? अनि तिमी किन आफ्नो भाइलाई तुच्‍छ ठान्‍छौ ? किनकि हामी सबै परमेश्‍वरको न्‍याय आसनको सामु खडा हुनेछौं ।
11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्‍छ, “ जस्‍तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।”
12 यसैले, हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ ।
13 यसकारण, एक-अर्काको न्‍याय नगरौं, तर बरु, यो अठोट गरौं, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौं ।
14 म यो जान्‍दछु र म प्रभु येशूमा विश्‍वास गर्दछु, कि कुनै पनि थोक आफै अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्‍छ, त्‍यसको निम्ति मात्र यो अशुद्ध हुनेछ ।
15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका हुँदैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्‍यसलाई तिम्रो खानेकुराले नष्‍ट नपार ।
16 यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।
17 किनकि परमेश्‍वरको राज्‍य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो ।
18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्‍छ ।
19 यसैले, शान्‍तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पछि लागौं ।
20 खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्‍छ र त्‍यसलाई ठेस खान लगाउँछ, त्‍यसको निम्ति यो दुष्‍टता हो ।
21 मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।
22 तिमीसँग यी विशेष विश्‍वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्‍वरको बीचमा नै राख । आफै मञ्‍जुर भएको कुरामा आफैलाई दोषी नतुल्याउने मानिस धन्‍यको हो ।
23 जसले शङ्‌का गरेर खान्‍छ, यो विश्‍वासबाट नभएको हुनाले त्‍यो दोषी ठहरिन्‍छ । अनि जे विश्‍वासबाट आएको होइन, त्‍यो पाप हो ।