12
यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको आत्मिक उपासना हो ।
2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्‍छा के रहेछ भनी जाँचेर पत्ता लगाओ ।
3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्‍छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्‍तो ठान्‍नुपर्ने हो सो भन्‍दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्‌गले सोच्‍नुपर्छ ।
4 किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्‌गहरू छन्, तर अङ्‌गहरूको काम एउटै हुँदैन ।
5 त्‍यसरी नै, हामीहरू जो धेरै छौं ख्रीष्‍टमा एउटै शरीर हौं, र हामी सबै एक-अर्काका अङ्‌गहरू हौं ।
6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।
7 यदि कसैको वरदान सेवाको हो भने, त्‍यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्‍यसले सिकाओस् ।
8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्‍यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्‍यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्‍यसले होशियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्‍यसले यो खुशी भएर गरोस् ।
9 प्रेम निष्कपट होस् । जे खराब छ, त्‍यसलाई घृणा गर; जे असल छ, त्‍यसमा लागिरहो ।
10 दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिं एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।
11 लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर ।
12 तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्‍द मनाओ । दुःखमा धैर्य गर । निरन्‍तर प्रार्थना गर्दै रहो ।
13 विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।
14 तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ ।
15 आनन्‍द गर्नेहरूसँग आनन्‍द मनाओ; रुनेहरूसँग रोओ ।
16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ ।
17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।
18 सम्भव भए, सकेसम्म तिमीहरू सबैसँग शान्‍तिमा बस ।
19 प्रिय हो, आफैले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्‍छ ।
20 “तर तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खुवाओ । त्यो तिर्खाएको छ भने, त्यसलाई पानी देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्‌ग्रो खन्‍याउनेछौ ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।