8
त्‍यसकारण, अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
2 किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्‍तले मलाई पाप र मृत्‍युको सिद्धान्‍तबाट स्वतन्‍त्र बनाएको छ ।
3 जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
4 हामीमा व्यवस्थाको मापदण्ड पूरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौं ।
5 जो पापमय स्वभाव अनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्‍यान दिन्‍छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्‍यान दिन्‍छन् ।
6 किनकि पापमय स्वभावमा मन लगाउनु चाहिं मृत्‍यु हो, तर पवित्र आत्मामा मन लगाउनु चाहिं जीवन र शान्‍ति हो ।
7 किनभने पापमय स्वभावमा मन लगाउनु चाहिं परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त यो हुन नै सक्छ।
8 जो पापमय स्वभावको वशमा छन्, तिनीहरूले परमेश्‍वरलाई खुसी तुल्याउन सक्दैनन् ।
9 तापनि तिमीहरू पापमय स्वभावमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्‍य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्‍छ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्‍यो उहाँको हुँदैहोइन ।
10 यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, एकातिर पापको कारण तिमीहरूको शरीर मरेको हुन्‍छ, तर अर्कोतिर धार्मिकताको कारण तिमीहरूका आत्मा जीवित हुन्‍छ ।
11 येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्‍छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
12 त्‍यसकारण, भाइ हो, हामी ऋणी छौं, तर पापमय स्वभाव अनुसार जिउन हामी पापमय स्वभावप्रति बाध्य छैनौं ।
13 तिमीहरू पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्नै लागेका छौ, तर यदि तिमीहरूले पवित्र आत्माद्वारा पापमय स्वभावका कामहरूलाई निर्मूल पार्यौ भने तिमीहरू जिउनेछौ ।
14 किनकि जतिजना परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका हुन्छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् ।
15 किनकि फेरि डरमा पर्नलाई तिमीहरूले दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता !” भनी पुकार्छौं ।
16 हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्‍छ ।
17 यदि हामी सन्‍तानहरू हौं भनेता हामी उत्तराधिकारीहरू पनि हौं अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौं । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौं । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौं भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौं ।
18 यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्‍छु ।
19 किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
20 किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्‍छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको इच्‍छामा । यो दृढ निश्‍चयता हो,
21 कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्‍तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ ।
22 हामी जन्‍दछौं, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्‍दन र प्रसव वेदनामा छ ।
23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफै पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैभित्र क्रन्‍दनमा छौं ।
24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौं, त्‍यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ?
25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौं भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौं ।
26 त्‍यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्‍छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्‍दैनौं, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्‍दनमा हाम्रो निम्ति मध्‍यस्थता गर्नुहुन्‍छ ।
27 जसले हृदयको खोजी गर्नुहुन्‍छ उहाँले पवित्र आत्माको विचार जान्‍नुहुन्‍छ, किनकि उहाँले परमेश्‍वरको इच्‍छाअनुसार विश्‍वासीहरूको तर्फबाट अन्‍तरबिन्‍ती गर्नुहुन्‍छ ।
28 हामी जान्‍दछौं, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्‍छ (अर्थात् नोटः केही पूरानो संस्करणमा यस्तो छ - हरेक कुरामा परमेश्वरले भलाई नै गर्नुहुन्छ) ।
29 किनकि जसलाई उहाँले पहिलेदेखि नै चिन्नुभएको छ , धेरै भाइहरूमध्‍ये ज्‍येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍त गर्नुभयो ।
30 जसलाई उहाँले पहिले नै नियुक्‍त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
31 त्‍यसो भए, यी कुराहरूको विषयमा हामी के भनौं त ? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्‍छ भने, हाम्रो विरुद्धमा को हुन्‍छ र ?
32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैंमा दिनुहुन्‍न र ?
33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्‍छ ।
34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्‍छ ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्‍छ, अनि त्‍यस भन्‍दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्‍छ, र हाम्रा लागि मध्‍यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्‍छ ।
35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ ? सङ्‌कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?
36 जस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं । काटिने भेडाहरू जस्तै हामीहरू गनिएका छौं ।”
37 यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्‍दा पनि अझ बढी छौं ।
38 किनकि म विश्‍वस्त भएको छु, कि न मृत्‍युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले,
39 न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।