9
म येशू ख्रीष्‍टमा साँचो भन्‍दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्‍छ,
2 कि मेरो लागि मेरो हृदयमा असाध्‍य कष्‍ट र अटुट पीडा छ ।
3 म इच्‍छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैचाहिं श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ ।
4 तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् ।
5 ख्रीष्‍टको शरीरअनुसार ख्रीष्‍ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन् । उहाँ नै सबैका परमेश्‍वर हुनुहुन्‍छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।
6 तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेको जस्‍तो होइन, किनकि इस्राएलका सबै साँचो रूपमा इस्राएलका होइनन् ।
7 न त अब्राहामका सबै सन्‍तानहरू साँचो रूपमा उनका सन्‍तानहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्‍तानहरू गनिनेछन् ।”
8 अर्थात् शरीरबाट जन्‍मेका सन्‍तानहरू परमेश्‍वरका सन्‍तानहरू होइनन् । तर प्रतिज्ञाका सन्‍तानहरू नै सन्‍तानहरूका रूपमा गनिन्‍छन् ।
9 किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।”
10 यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्‍ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि–
11 किनकि सन्‍तानहरू अझ जन्‍मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर
12 तिनलाई यसो भनियो, “जेठोले कान्‍छोको सेवा गर्नेछ ।”
13 जस्‍तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरें , तर एसावलाई घृणा गरें ।”
14 त्‍यसो हो भने, हामी के भनौं त ? के परमेश्‍वरसित अधार्मिकता छ त ? कहिल्यै यस्तो नहोस् ।
15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्‍छ, “जसमाथि म दया देखाउन चाहन्‍छु, त्‍यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्‍छु, त्‍यसमाथि म करुणा देखाउँछु ।”
16 त्‍यसैले, यो इच्‍छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।
17 किनकि धर्मशास्‍त्रले फारोलाई भन्‍छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरें , ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।”
18 त्‍यसैले, परमेश्‍वरले जसलाई इच्‍छा गर्नुहुन्‍छ त्‍यसलाई दया गर्नुहुन्‍छ र जसलाई इच्‍छा गर्नुहुन्‍छ त्‍यसलाई कठोर पनि बनाउनुहुन्‍छ ।
19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले अझै किन दोष लगाउनुहुन्‍छ? किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ ?”
20 त्‍यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई यसो भन्‍छ, “तिमीले मलाई किन यस्तो बनाएको ? ”
21 के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र ?
22 परमेश्‍वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्‍छा गरिरहनुभएको छ भने के त ?
23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको कृपा-पात्रहरूलाई आफ्नो महिमा प्रकट गर्न यसो गर्नुभयो
24 - यदि उहाँले यो हाम्रो निम्ति अर्थात् यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के भयो त ?
25 जसरी उहाँ होशेको पुस्तकमा भन्‍नुहुन्‍छ, “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जसलाई मैले प्रेम गरेको थिइनँ, त्यसलाई म प्रिय भन्‍नेछु ।
26 र त्‍यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्‍यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछन् ।”
27 यशैया इस्राएलको विषयमा भन्‍छन्, “यदि इस्राएलका सन्‍तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्तिकै थिए भने बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ ।
28 किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पूरा गर्नुहुनेछ,
29 अनि यशैयाले अगाडि नै भने, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्‍तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम र गमोराजस्ता हुने थियौं ।”
30 त्‍यसो भए, हामी के भनौं त ? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे ।
31 तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।
32 किन पाएनन् त ? किनकि तिनीहरूले विश्‍वासद्वारा खोजेनन्, तर कर्मद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्‌गामा ठेस खाए,
33 जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्‌गा र चोट लाग्‍ने चट्टान राख्‍दै छु । जसले यसमा विश्‍वास गर्छ त्‍यो लज्‍जित हुनेछैन ।”