7
भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्‍नेहरूसित बोल्दै छु), कि व्‍यवस्थाले मानिस जीवित रहुन्जेलसम्म वशमा पार्छ ?
2 किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहुन्जेल व्यवस्थाद्वारा बाँधिएकी हुन्‍छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्‍यो विवाहको व्यवस्थाबाट मुक्त हुन्‍छे ।
3 त्‍यस्तै, उसको पति जीवित छँदै तिनी अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ । तर उसको पति मर्‍यो भने, तिनी त्‍यस व्यवस्थाबाट मुक्त हुन्‍छे, अनि अर्को पुरुषसँग बसी भने पनि तिनी व्यभिचारिणी हुँदिन ।
4 त्‍यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ। हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ ।
5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा मृत्‍युको निम्ति फल फलाउन हाम्रा अङ्‌गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।
6 तर अब हामी व्यवस्थाबाट स्वतन्‍त्र पारिएका छौं । हामीलाई जुन कुराले बाँधेको थियो, त्‍यसको निम्ति हामी मरेका छौं । हामीले पूरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौं भनेर यसो भएको हो ।
7 त्‍यसो भए, हामी के भनौं त ? के व्यवस्था आफै पाप हो ? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।
8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्‍छ ।
9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरें ।
10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्‍युमा परिणत हुन पुग्यो ।
11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । नियमहरूद्वारा यसले मलाई मार्‍यो ।
12 त्‍यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।
13 त्‍यसैले, के जे असल छ त्‍यो मेरो निम्ति मृत्‍यु बन्‍यो ? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्‍यसद्वारा ममा मृत्‍यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्‍यधिक पापमय बन्‍न सकोस् ।
14 हामी जान्‍दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।
15 किनभने म जे गर्छु, त्‍यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्‍छु, त्‍यो म गर्दिनँ; अनि म जेलाई घृणा गर्छु, म त्‍यही गर्छु ।
16 तर म जे चाहँदिनँ म त्‍यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्‍छु ।
17 तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो ।
18 किनकि म जान्‍दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्‍छा छ, तर म यो गर्न सक्दिनँ ।
19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्‍यही गर्छु ।
20 अब म जे गर्न चाहँदिनँ त्‍यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो ।
21 तब मैले ममा असल गर्ने सिद्धान्‍त भेट्टाउँछु, तर ममा दुष्‍ट वास्तवमै उपस्थित भएको पाउँछु ।
22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्‍द मनाउँछु ।
23 तर मैले मेरा अङ्‌गहरूमा फरक सिद्धान्‍त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्‍तसँग लड्छ । मेरा अङ्‌गहरूमा भएको सिद्धान्‍तद्वारा यसले मलाई पापको कैदी बनाउँछ ।
24 म दुःखि मानिस हुँ ! मलाई यो मृत्‍युको शरीरबाट कसले छुटकारा देला ?
25 तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्‍यवाद होस् ! त्‍यसैले, म आफैले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्‍तको सेवा गर्छु ।