6
हामी अब के भनौं त ? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त ?
2 यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्‍यौं हामी यसमा कसरी जिउने ?
3 जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइएको थियो, उनीहरूलाई उहाँको मृत्‍युमा बप्‍तिस्मा दिइएको थियो भन्‍ने के तिमीहरू जान्‍दैनौ ?
4 हामी बप्‍तिस्माद्वारा मृत्‍युमा उहाँसँगै गाडियौं । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्‍यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौं ।
5 किनकि यदि हामी उहाँको मृत्‍युको स्वरूपमा एक भएका छौं भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौं ।
6 हामी जन्‍दछौं, कि हाम्रो पूरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्‍न नपरोस् ।
7 जो मरेको छ, पापको सम्बन्धमा त्‍यसलाई धर्मी घोषित गरिन्‍छ ।
8 तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौं ।
9 हामी जान्‍दछौं, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्‍न । अब मृत्‍युले उहाँमाथि राज्‍य गर्दैन ।
10 मृत्‍युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्‍छ, त्‍यो उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्‍छ ।
11 त्‍यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरमा जीवित ठान्‍नुपर्छ ।
12 त्‍यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ, ताकि तिमीहरूले त्‍यसको अभिलाषा अनुसार चलन नपरोस् ।
13 आफ्नो शरीरका अङ्‌गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैलाई परमेश्‍वरको निम्ति मृत्युबाट जीवनमा ल्याइएको जस्तै दिइहाल । अनि आफ्नो शरीरका अङ्‌गहरूलाई परमेश्‍वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ ।
14 पापलाई आफूमाथि राज्‍य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।
15 त्‍यसो भए के त ? के हामी व्यवस्थामा छैनौं, तर अनुग्रहमा छौं भनेर हामी पाप गरौं त ? कहिल्यै यस्तो नहोस् ।
16 के तिमीहरू जान्‍दैनौ, जसको निम्ति तिमीहरूले आफैलाई नोकरको रूपमा दिन्‍छौ त्‍यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ अर्थात् त्‍यसको आज्ञा पालन गर्नुपर्छ ? यो सत्‍य हो, कि या तिमीहरू मृत्‍युमा पुर्‍याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका सेवकहरू हौ ।
17 तर परमेश्‍वरलाई धन्‍यवाद होस् ! तिमीहरू पापका कमाराहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्‍यौ ।
18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरूलाई धार्मिकताको कमारा बनाइएको छ ।
19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्‍ने मानिसझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्‌गहरू अशुद्धता र दुष्‍टका नोकरहरूको रूपमा दियौ; त्‍यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्‌गहरूलाई धार्मिकताको कमाराको रूपमा देओ ।
20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍त्र थियौ ।
21 त्‍यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्‍यु हो ।
22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ ।
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैंको वरदानचाहिं हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्‍त जीवन हो ।