5
हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौं ।
2 हामीले उहाँप्रतिको विश्‍वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौं जसमा हामी खडा छौं । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौं भन्‍ने दृढतामा रमाउँछौं ।
3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्‍दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ ।
4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ ।
5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।
6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो ।
7 एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्ला । अर्थात् एक जना असल मानिसको लागि शायद कोहीले मर्ने आँट गरी हाल्ला ।
8 तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनकि हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो ।
9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौं, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौं ।
10 हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौं ।
11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा रमाउँछौं, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौं ।
12 यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्‍यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।
13 किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।
14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म र आदमले झैं अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउनु पर्थ्यो त्‍यसको प्रतिरूप थियो ।
15 तरै पनि यो सित्तैँको वरदान अधर्म जस्‍तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्‍वरको अनुग्रहले अझ धेरै गर्‍यो र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् ।
16 किनकि वरदान एक जनाले पाप गरेको परिणाम जस्‍तो होइन । एकातिर, एक जना ‍मानिसको अपराधले दण्डको न्‍याय आयो । अर्कोतिर, सित्तैंको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो ।
17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्‍त गर्नेले एक जना अर्थात् येशू ख्रीष्‍टको जीवनद्वारा अझ धेरै राज्‍य गर्नेछ ।
18 यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामले सबै मानिसको निम्ति धर्मीकरणको जीवन ल्यायो ।
19 जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जनालाई पापी बनायो, त्‍यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछन् ।
20 तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो ।
21 ताकि जसरी पापले मृत्‍युद्वारा राज्‍य गर्‍यो, त्‍यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।