4
तब हामी के भनौं त ? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त ?
2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्‍थ्यो, तर परमेश्‍वरको सामु त होइन ।
3 किनकि धर्मशास्‍त्रले के भन्‍छ ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।”
4 अब जसले काम गर्छ, त्‍यसको ज्‍यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने हकको रूपमा गनिन्‍छ ।
5 तर त्‍यसको निम्ति जसले काम गर्दैन, तर त्‍यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ, त्‍यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ ।
6 परमेश्‍वरले कामविना नै धार्मिक गन्‍नुभएको मानिसलाई दाऊदले पनि धन्यको भनी घोषणा गर्छन्,
7 उनले भने, “ती धन्‍य हुन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् ।”
8 त्‍यो मानिस धन्‍यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा लिनुहुन्‍न ।”
9 तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो ? किनकि हामी भन्‍छौं, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।”
10 त्‍यसो हो भने, यो कसरी गनियो त ? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा ? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो ।
11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्‍वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिं तिनीहरू बेखतनामै भए तापनि उनी विश्‍वास गर्ने सबैका पिता भए - ताकि तिनीहरू धार्मिक गनिन सकून् -
12 ताकि उनी खातनावालाहरूका पिता हुन सकून् जसका खतना भएको मात्र होइन, तर ती जसले हाम्रा पिता अब्राहामको नमूनालाई पछ्याउँछन् । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
13 किनकि अब्राहाम र उनका सन्‍तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्‍वासको धार्मिकताद्वारा थियो ।
14 किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्‍वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो ।
15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्‍यहाँ अनाज्ञाकारिता हुँदैन ।
16 यसैले, यो विश्‍वासद्वारा हुन्‍छ, ताकि त्‍यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्‍तानहरूका निम्ति निश्‍चित छ । अनि यी सन्‍तानहरूले केवल व्यवस्था जान्‍नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्‍वासबाट आएकाहरूलाई पनि समेट्छन् , (किनकि उनी हामी सबैका पिता हुन्,
17 जस्‍तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु”) ।अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्‍छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्‍नुहुन्‍छ ।
18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे । त्‍यसैले, उनी “तेरा सन्‍तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने ।
19 उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्‍माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।
20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा रोकिएनन् । बरु, उनलाई विश्‍वासमा बलियो बनाइयो र उनले परमेश्‍वरको प्रशंसा गरे ।
21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्‍यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्‍थ्यो भनी उनी पूर्ण रूपमा विश्‍वस्त थिए ।
22 त्‍यसकारण, यो उनको निम्ति धार्मिकता गनियो ।
23 अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन ।
24 यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्‍युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं ।
25 यो उहाँ नै हुनुहुन्‍छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।