3
त्‍यसो भए यहूदीलाई के फाइदा छ त ? अनि खतनाको के फाइदा छ त ?
2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो ।
3 किनकि केही यहूदीहरू विनाविश्‍वासका भए भन्‍दैमा के भयो त ? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई अमान्‍य तुल्याउँछ र ?
4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्‍वर नै सत्‍य ठहरिनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनहरूमा धर्मी देखिनु भएको होस्, अनि न्‍यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्‍नुभएको होस् ।”
5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र ? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्‍छ त ? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
6 कहिल्यै यस्तो नहोस् ! किनकि त्‍यसो भए त परमेश्‍वरले कसरी संसारको न्‍याय गर्नुहुन्‍छ ?
7 तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्‍यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्‍याय गरिन्‍छ त ?
8 किन नभनौं, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्‍छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्‍छौं, “दुष्‍ट काम गरौं, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्‍याय उचित छ ।
9 त्‍यसो भए के त ? के हामी आफैले आफ्‍नो सफाइ दिँदै छौं ? त्‍यसो नहोस् ! किनकि यहूदीहरू र ग्रीकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौं ।
10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।
11 बुझ्‍ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन।
12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ बेकम्मा भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।
13 तिनीहरूका घाँटी खुल्ला चिहान हुन् । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ ।
14 तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् ।
15 तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन् ।
16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् ।
17 यी मानिसहरूले शान्‍तिको मार्ग जानेका छैनन् ।
18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको भय छैन ।
19 अब हामी जान्‍दछौं, कि व्यवस्थाले जे भन्‍दछ त्‍यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्‍छ । यो हरेक मुख बन्‍द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् ।
20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
21 तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्‍ताहरूद्वारा साक्षी दिइएको छ,
22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्‍यहाँ कुनै भेदभाव छैन ।
23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍नबाट चुकेका छन् ।
24 ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैंमा धर्मी ठहराइन्‍छन् ।
25 किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चितको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्‍यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो ।
26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैलाई न्‍यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमा विश्‍वास राख्नेहरूलाई धर्मी ठहराउनुहुन्‍छ भन्‍ने देखाउन यसो भयो ।
27 घमण्ड कहाँ गर्ने ? यो त हटाइएको छ । केको आधारमा ? कामहरूको आधारमा ? होइन, तर विश्‍वासको आधारमा हो ।
28 तब हामी निचोडमा आउँछौं, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्‍छ ।
29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्‍छ त ? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र ? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्‍छ ।
30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्‍छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ, र खतना नभएकाहरूलाई पनि विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुन्‍छ ।
31 के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त ? कहिल्यै यस्तो नहोस् ! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौं ।