24
पाँच दिनपछि, प्रधान पूजाहारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए ।
2 जब पावल शासकका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ; तपाईंको दूरदृष्टिले हाम्रो देशमा असल सुधार ल्याउँछ ।
3 त्यसकारण अतिउच्च फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं ।
4 त्यसैले म तपाईंको अझ बढी समय नलिकन, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु ।
5 किनभने हामीले यस मानिसलाई दुःख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो ।
6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्यो, त्यसैले उसलाई हामीले पक्र्यौं ।
7 तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।
8 जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैले थाहा पाउनुहुनेछ ।
9 यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने ।
10 तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”
11 तपाईं आफैले प्रमाणित गर्न सक्नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिन भन्दा बढी भएको छैन ।
12 र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइनँ ।
13 र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् ।
14 तर तपाईंसँग म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्वासयोग्य छु ।
15 यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरे जस्तै, परमेश्वरमा मेरो पनि त्यस्तै दृढ विश्वास छ ।
16 र यसमा नै परमेश्वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा दोषरहितको विवेक पाउन म काम गर्छु ।
17 अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ ।
18 जब मैले यो गरें, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भीडभाड वा होहल्ला थिएन ।
19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो ।
20 नत्र भने म यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्नुपर्छ ।
21 मैले उनीहरूको माझमा खडा भएर ठूलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʻमृतकहरूको पुनरुत्थानको विषयले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिँदैछ ।”
22 फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिमीहरूको मुद्दा फैसला गर्नेछु ।”
23 त्यसपछि उनले कप्तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग कोमलता साथ व्यवहार गर र कसैले उनका कुनै पनि साथीहरूलाई सहायता गर्न वा भेटघाट गर्न नरोक्नू भनी आदेश दिए ।
24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्ट येशूप्रतिको विश्वासको बारेमा सुने ।
25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जहिले मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”
26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे ।
27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।