16
पावल डर्बी र लुस्‍त्रामा पनि आए, त्‍यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए ।
2 लुस्‍त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्‍थे ।
3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्‍थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
4 ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए ।
5 यसरी मण्डलीहरू विश्‍वासमा बलियो हुँदै र दिन प्रतिदिन सङ्‌ख्‍यामा वृद्धि हुँदै गइरहे ।
6 एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे ।
7 जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्‍नुभयो ।
8 त्‍यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।
9 रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”
10 पावलले त्‍यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्‍तै माकेडोनियाको बाटोतर्फ लाग्यौं ।
11 त्‍यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्राकेको बाटो लाग्यौं र अर्को दिन हामी नियापोलिस पुग्यौं,
12 त्‍यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्‍पी गयौं जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्‍यस सहरमा धेरै दिनसम्म बस्यौं ।
13 सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्‍यौं । हामी बस्यौं र जम्मा भएका स्‍त्रीहरूसँग कुरा गर्‍यौं ।
14 त्‍यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्‍त्री थिइन् जो वैजनी रङको वस्‍त्रको व्यापारी थिइन् । जसले परमेश्‍वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्‍यान दिएर सुनिन् । पावलले भनेका कुरा तिनले ध्‍यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो ।
15 तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्‍दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।
16 हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्‍त्रीसँग हाम्रो सामना भयो । त्‍यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्‍थी ।
17 त्‍यो स्‍त्री यसो भन्‍दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
18 त्‍यसले धेरै दिनसम्म त्‍यसो गरिरही । तर त्‍यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्‍यो आत्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्‍छु ।” र त्‍यो तुरुन्‍तै निस्केर गयो ।
19 जब त्‍यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
20 तिनीहरूले पावल र सिलासलाई न्‍यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।
21 यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”
22 त्‍यसपछि मानिसहरूको भीड पावल र सिलास माथि खनिए; अनि न्‍यायाधीशहरूले उनीहरूको कपडा च्‍यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।
23 तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
24 आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
25 मध्‍यरातमा पावल र सिलास परमेश्‍वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्‍यो कुराहरू सुनिरहेका थिए ।
26 अचानक त्‍यहाँ एउटा ठूलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्‍तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफै खोलिए ।
27 झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्‍ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।
28 तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीं छौं ।”
29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
30 अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?”
31 उनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
32 उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।
33 तब रातको त्‍यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्‍तै बप्‍तिस्‍मा दिइयो ।
34 उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।
35 भोलिपल्ट बिहान न्‍यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्‍दै सन्‍देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”
36 यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्‍यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्‍यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्‍तिसँग जानुहोस्।”
37 तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्‍क पठाउन खोज्दैछन् ? वास्तवमा त्‍यसो होइन, तिनीहरू आफै आएर र हामीलाई छुटाएर लैजाउन् ।”
38 तब झ्यालखानाका सिपाहीहरूले गएर न्‍यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्‍यायाधीशहरू डराए ।
39 न्‍यायाधीशहरू आफै आएर बिन्‍ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
40 अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्‍यस सहरबाट आफ्नो बाटो लागे ।