14
आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रीकहरू दुवैका ठूलो भीडले विश्‍वास गरे ।
2 तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा उनीहरूलाई तितो बनाइदिए ।
3 त्‍यसैले उहाँले आफ्नो अनुग्रहको सन्‍देशको बारेमा प्रमाण दिनुभएको हुनाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्‍यहाँ बसे । उहाँले पावल र बारनाबासका हातहरूलाई यी चिह्नहरू र अचम्मका कामहरू गर्न स्वीकृति दिएर गर्नुभयो ।
4 तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।
5 जब यहूदीहरू र गैरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्‌गाले हान्‍न मनाउने प्रयास गरे,
6 यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए
7 र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।
8 लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन र आमाको गर्भमै लङ्‌गडो थियो र ऊ कहिलै हिँडेको थिएन ।
9 पावलले बोलिरहेको त्‍यो मानिसले सुन्‍यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्‍यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे ।
10 यसकारण उनले ठूलो स्वरमा त्‍यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्‍यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
11 जब भीडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।
13 जिउसका पूजाहारी, जसको मन्‍दिर सहरको बाहिरपट्टि थियो, उनले र भीडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्‍थे ।
14 तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्‍याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
15 र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ ? हामी पनि तपाईंहरू जस्‍तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई अर्थविहीन कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौं जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।
16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।
17 तथापि उहाँले आफैलाई गवाहीबिना छोड्नु भएन त्‍यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्‍दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’
18 यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भीडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भीडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्‌गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
20 तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।
21 सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।
22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्‍यमा पस्‍नुपर्छ भनी बताए ।
23 जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
24 त्‍यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।
25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।
26 त्‍यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।
27 तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।
28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।