4
जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्‍दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।
2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्‍युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।
3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्‍यतिबेला साँझ परिसकेको थियो ।
4 तर सन्‍देश सुनेका मानिसहरूमध्‍ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
5 अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए ।
6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्‍तहरू त्‍यहाँ थिए ।
7 जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ ?”
8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,
9 यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गर्नुहुन्छ भने,
10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्‍युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ निको भएर उभिएको छ ।
11 येशू ख्रीष्‍ट त्‍यो ढुङ्‌गा हुनुहुन्‍छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्‌गा हुनुभयो ।
12 अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र अशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।
14 उनीहरूले त्‍यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।
15 तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।
16 उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौं ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौं ।
17 तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिनुपर्छ।”
18 तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।
19 तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्‍दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्‍याय गर्नुहोस् ।
20 किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौं ।”
21 अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्‍नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्‍यसको निम्ति मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए ।
22 यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालीस वर्ष भन्‍दा माथिका थिए ।
23 तिनीहरूलाई स्वतन्‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए ।
24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्‍यसमा भएका सबै थोक बनाउनुभयो,
25 तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे ?
26 परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए ।
27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्‍तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
28 तपाईंको बाहुली र इच्‍छाले यो हुनु भन्‍दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
29 हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् ।
30 ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्‍छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यहरू होऊन् ।”
31 तिनीहरूले प्रार्थना गरेर सिध्‍याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।
32 विश्‍वास गर्नेहरूको त्‍यो ठूलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्‍ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।
33 ठूलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठूलो अनुग्रह थियो ।
34 तिनीहरूमध्‍ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे
35 र प्रेरितहरूका पाउमा राखिदिन्‍थे र आवश्यकता परेअनुसार हरेक विश्‍वसीलाई वितरण गरिन्‍थ्यो ।
36 साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्‍छ) नाउँ राखिदिएका थिए ।
37 उनीसँग भएको जमिन उनले बेचे र त्‍यसको पैसा ल्याएर प्रेरितहरूको चरणमा राखिदिए ।