2
जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए ।
2 एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्‍तै आवाज आयो र तिनीहरू बसिरहेको पूरै घर भरियो ।
3 आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।
4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
5 यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए ।
6 जब यो आवाज सुनियो मानिसहरूका भीड एकसाथ आए र अन्‍योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने ।
7 तिनीहरू छक्‍क र चकित भए र तिनीहरूले भने, “साँच्‍चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन् ?
8 त्‍यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौं ?
9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया
10 फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्‍दाहरू, र रोमका आगन्‍तुकहरू,
11 यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू छौं । तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्‍दैछौं ।”
12 तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो ?”
13 तर अरूले चाहिँ गिज्‍याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन् ।”
14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्‍यान दिएर सुन्‍नुहोस् ।
15 किनभने तपाईंहरूले ठान्‍नुभए जस्‍तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ ।
16 तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः
17 ‘परमेश्‍वर भन्‍नुहुन्‍छ, “अन्‍त्‍यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्‍याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् ।
18 ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्‍याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
19 म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।
20 परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्‍यारोमा र चन्‍द्रमा रगतमा परिणत हुनेछ ।
21 यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्‍छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
24 उहाँलाई मृत्‍युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
25 किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैं मेरो मुहार अगाडि देखें । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्‍छ, यसकारण म नडगमगाउनु पर्दैन ।
26 यसकारण मेरो हृदय आनन्‍दित थियो र मेरो जिब्रोले आनन्‍द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।
27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्‍याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।
28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
29 हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।
30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्‍तानहरूमध्‍येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।
31 तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्‍यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’
32 यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौं ।
33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्‍याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्‍छ ।
34 दाऊद आफै स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस,
35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’
36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो ।
37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौं ?”
38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चाताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।
39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्‍तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैंलाई बचाओ ।”
41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्‍यस दिन थपिए ।
42 तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्‌गति, रोटी भाँच्‍ने कार्य र प्रार्थनामा लागिरहे ।
43 हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।
44 विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए ।
45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।
46 यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्‍दिरमा भेला हुन्‍थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्‍दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे ।
47 तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्‍छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।