लुका 22:1-13
22
अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्‍छ ।
2 मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।
3 बाह्र जनामध्‍ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।
4 येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्‍छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पूजाहारीहरू र कप्‍तानहरूसँगै गयो ।
5 तिनीहरू खुसी भए र त्यसलाई पैसा दिन सहमत भए ।
6 त्यो सहमत भयो र त्यसले उहाँलाई भीड नभएको बेलामा तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्‍यो ।
7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो ।
8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ ।”
9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्‍छ ?”
10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । त्यो जाने घरभित्र त्यसलाई तिमीहरूले पछ्याओ ।
11 तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्‍नुहुन्‍छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु ?’
12 उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्‍यहीँ तयारी गर ।”
13 त्‍यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।
लुका 22:14-38
14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो ।
15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठूलो इच्‍छा गरेको छु ।
16 किनभने म तिमीहरूलाई भन्‍दछु, यो परमेश्‍वरको राज्‍यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”
17 तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्‍यवाद दिनुभयो, उहाँले भन्‍नुभयो, “यो लेऊ, र तिमीहरू आपसमा बाँड ।
18 किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआएसम्म म फेरि अङ्‌गुरको फलको रस पिउनेछैनँ ।”
19 तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्‍यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”
20 भोज खानुभएपछि त्‍यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्‍छ ।
21 तर ध्‍यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ ।
22 किनभने मानिसका पुत्र त ठहराइए अनुसार जानुपर्छ । तर त्‍यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्‍छ ।”
23 र तिनीहरूमध्‍ये कसले यो गर्ला भनी तिनीहरू आपसमा प्रश्‍न गर्न लागे ।
The Last Supper
24 तब तिनीहरूमध्‍ये को सबै भन्‍दा ठूलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो ।
25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्‍छ ।
26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्‍ये सबै भन्‍दा ठूलोचाहिँ सबै भन्‍दा सानो जस्‍तो होस् । र जो सबै भन्‍दा महत्त्‍वपूर्ण छ, त्‍यो सेवा गर्ने जस्‍तो होस् ।
27 किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठूलो हो ? टेबलमा खान बस्‍ने होइन र ? तर म त तिमीहरूका बीचमा एक सेवा गर्ने जस्‍तै छु ।
28 तर मेरो परीक्षामा निरन्‍तर मसँग रहने तिमीहरू नै हौ ।
29 जसरी मेरा पिताले मलाई एउटा राज्‍य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्‍य दिन्‍छु ।
30 मेरो राज्‍यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्‍याय गरेर सिंहासनमा बस्‍नेछौ ।
31 सिमोन, हे सिमोन, होशियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्‍यो ताकि उसले तिमीलाई गहुँलाई जस्‍तै निफन्‍न पाओस् ।
32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नडगमगाओस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ ।
33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्‍युसम्म जानको निम्ति तयार छु ।”
34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्‍छु, तिमीले मलाई चिन्‍दिनँ भनेर तीन पटक इन्कार नगरेसम्म, आजको दिन भाले बास्‍नेछैन ।”
35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र ?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”
36 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्‍न देऊ र खानेकुरा बोक्‍ने झोला पनि । जससँग तरवार छैन, त्‍यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् ।
37 किनकि म तिमीहरूलाई भन्‍दछु, मेरो बारेमा जे लेखिएको छ त्‍यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्‍तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्‍यो पुरा भइरहेको छ ।”
38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस ! यहाँ दुई वटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।”
Upper Room Teaching
लुका 22:39-53
39 भोजनपछि, येशूले प्रायः गर्ने जस्‍तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए ।
40 जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर ।”
41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,
42 “हे पिता, यदि तपाईं चाहनुहुन्‍छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्‍छा होइन, तर तपाईंको इच्‍छा पुरा होस् ।”
43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए ।
44 पीडामा भएर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठूला-ठूला थोपा जस्‍तै भुइँमा खसिरहेका थिए ।
45 जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो ।
46 र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस् ।”
47 हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्‍ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भीड देखा पर्‍यो । त्यो येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,
48 तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ ?”
49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्‍यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ ?”
50 तिनीहरूमध्‍ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए ।
51 येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो ।
52 येशूले उहाँ विरुद्ध आउने मुख्य पूजाहारीहरू, मन्‍दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्‍तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ?
53 जब म तिमीहरूसँगै मन्‍दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
Jesus is Betrayed and Arrested
लुका 22:54-71
54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पूजाहारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।
55 त्‍यसपछि तिनीहरूले आँगनको बीचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बीचमा बसे ।
56 पत्रुस आगोको उज्‍यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”
57 तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्‍दिनँ ।”
58 केही बेरपछि अरू कसैले देखेर भन्‍यो, “तिमी पनि तिनीहरूमध्‍ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”
59 लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीली नै हुन् ।”
60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्‍दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्‍तै बास्यो ।
61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।”
62 पत्रुस बाहिर गएर धुरुधुरु रोए ।
Peter Disowns Jesus
63 तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्‍याए र कुटे ।
64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्‍दै सोधे, “भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?”
65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्‍दाको दोष लगाए ।
66 बिहान हुनेबितिकै, मुख्य पूजाहारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र
67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,
68 र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।
69 तर अहिलेबाट, मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।”
70 तिनीहरू सबैले भने, “त्‍यसो भए के तँ परमेश्‍वरका पुत्र होस् ?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्‍छ, म उही हुँ ।”
71 तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र ? किनभने हामी आफैले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”
Jesus is Mocked and Questioned