लुका 21:1-19
21
येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो ।
2 उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको देख्नुभयो ।
3 यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनीहरू सबैले भन्‍दा यस विधवाले बढी दिई ।
4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, जिउनका लागि यिनीसंग जे-जति थियो सबै दिई ।”
Widow's Offering
5 अब कसैले मन्‍दिरको बारेमा भने, “दानहरू र सुन्‍दर-सुन्‍दर ढुङ्‌गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो,
6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्‌गा रहनेछैन, सबै भत्किनेछन् ।”
7 त्‍यसकारण, तिनीहरूले उहाँलाई यसो भन्‍दै सोधे, “गुरुज्‍यू, यी कुराहरू कहिले हुनेछन् ? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?”
8 येशूले जवाफ दिनुभयो, “होशियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्‍दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।
9 जब तिमीहरूले लडाइँ र खैलाबैलाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, किनकि यी कुराहरू पहिले हुनैपर्छ, तर अन्‍त्‍य भने तुरुन्‍तै हुनेछैन ।”
10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्‍य-राज्‍यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।
11 त्‍यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्‍यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् ।
12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरहरूमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।
13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।
14 त्‍यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच ।
15 तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ।
16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्‍ये केही मृत्‍युका लागि सुम्पिनेछौ ।
17 मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।
18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।
19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ ।
लुका 21:20-38
20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्‍यसको विनाश नजिकै छ भनी जान ।
21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बीचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् ।
22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।
23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू ! त्‍यस देशमाथि महासङ्‌कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।
24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्‍नेछन् ।
25 सूर्य, चन्‍द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका जाति-जातिहरू कष्‍टमा परी व्याकुल हुनेछन् ।
26 संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्‌काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।
27 त्‍यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठूलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।
28 जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।”
29 येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।
30 जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैले थाहा पाउनेछौ ।
31 त्‍यसैले पनि, जब तिमीहरूले यी थोकहरू भएको देख्‍नेछौ, परमेश्‍वरको राज्‍य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
32 तिमीहरूलाई म साँच्चै भन्‍दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।
33 स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।
34 तर तिमीहरू आफै होशियार रहो । त्‍यसकारण तिमीहरूको हृदय विलास, मतवालापन र जीवनको फिक्रीले नभरियोस् । नत्र, त्‍यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।
35 किनकि यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्‍यो पासोझैँ आइपर्नेछ ।
36 तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”
37 दिउँसोको समयमा उहाँले मन्‍दिरमा सिकाउनुहुन्‍थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्‍थ्यो, र डाँडामा रात बिताउनुहुन्‍थ्यो जसलाई जैतून भनिन्‍छ ।
38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्‍दिरमा आउँथे ।