लुका 3:1-20
3
कैसर तिबेरियसको पन्ध्रौँ वर्षमा, जति बेला पन्‍तियस पिलातस यहूदियाका शासक थिए, हेरोद गालीलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए । लुसानियास अबिलेनेका शासक थिए ।
2 हन्‍नास र कैयाफा प्रधान पूजाहारी भएको समयमा, जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो ।
3 उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।
4 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।
5 हरेक उपत्‍यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्‌गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् ।
6 सबै मानिसहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।”
7 यसकारण, यूहन्‍नाले उनीकहाँ बप्‍तिस्‍मा लिन आइरहेको ठुलो भिडलाई भने, “हे विषालु सर्पका सन्‍तान हो, कसले तिमीहरूलाई परमेश्‍वरको आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो ?
8 पश्‍चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्‍न छोड, किनभने परमेश्‍वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्‍तान खडा गर्न सक्‍नुहुन्‍छ ।
9 रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्‍यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”
10 तब भीडबाट मानिसहरूले यसो भन्‍दै सोधे, “त्‍यसो भए हामीले के गर्ने त ?”
11 उनले तिनीहरूलाई जवाफ दिए, “दुई जोर दौरा हुनेले नहुनेलाई दिओस् । त्‍यसै गरी, जससँग खानेकुरा छ, त्‍यसले नहुनेलाई दिओस् ।”
12 त्‍यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्‍तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि ?”
13 उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्‍दा बढी पैसा नउठाउनू ।”
14 केही सिपाहीहरू पनि आएर सोधे, “हाम्रो बारेमा नि ? हामीले के गर्ने ?” उनले तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्‍तुष्‍ट होओ ।”
15 तब मानिसहरूले ख्रीष्‍ट आउनुहुन्‍छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्‍ना नै पो ख्रीष्‍ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो ।
16 यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्‍छु, तर म भन्‍दा अर्का शक्‍तिशाली व्यक्‍ति आउनुहुन्‍छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।
17 उहाँको खला सफा गर्न र अन्‍नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
18 उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो ।
19 यूहन्‍नाले हेरोदलाई उनका भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्‍य खराबीहरूका निम्ति पनि हप्काए ।
20 तर हेरोदले अझ बढी दुष्‍ट काम गरे । किनभने उनले यूहन्‍नालाई जेलमा हालेका थिए ।
लुका 3:21-38
21 यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्दा, येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, तब स्वर्ग खुल्यो ।
22 पवित्र आत्मा उहाँमाथि ढुकुर जस्‍तै ओर्लनुभयो । त्‍यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।”
Baptism of Jesus by John
23 येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तीस वर्षको हुनुहुन्‍थ्यो । उहाँ योसेफका छोरा ( जस्‍तो सोचिएको थियो) हुनुहुन्‍थ्यो, योसेफ एलीका छोरा थिए ।
24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना,
25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम र इसली नग्गैका छोरा थिए,
26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए,
27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल,
28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्‍का छोरा एलमादम थिए,
29 यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए,
30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,
31 मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन,
33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,
36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,
38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्‍वरका छोरा थिए ।