लुका 2:1-24
2
ती दिनहरूमा रोमी साम्राज्‍यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे ।
2 कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो ।
3 त्‍यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए ।
4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए ।
5 उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए ।
6 तिनीहरू त्‍यहीँ छँदा मरियमको बालक जन्‍माउने समय आयो ।
7 उनले आफ्नो पहिलो छोरा जन्‍माइन्, र कपडाले बेह्रिन् अनि डूँडमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन ।
8 त्‍यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए ।
9 एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।
10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्‍दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठूलो आनन्‍द दिनेछ ।
11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्‍म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ ।
12 तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डूँडमा सुताइरहेको भेट्टाउनेछौ ।”
13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे ।
14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति ।”
15 जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।”
16 तब तिनीहरू हतार-हतार गर्दै त्‍यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डूँडमा सुताइरहेको देखे ।
17 तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।
18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए ।
19 तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र तिनले आफ्नो मनमै राखिन् ।
20 तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के ।
Birth of Jesus
21 जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनु भन्‍दा अगि दिइएको थियो ।
22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।
23 परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्‍मेको प्रत्‍येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।”
24 तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुई वटा परेवा बलिदान चढाउन लिएर आए ।”
लुका 2:25-52
25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्‍त्वना दिनुहुनेको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्‍थ्‍यो ।
26 पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्‍यु हुनेछैन ।
27 एक दिन तिनी मन्‍दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्‍यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्‍दिरमा ल्याइयो ।
28 त्‍यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने,
29 “तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।
30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
31 जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ ।
32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्‍यजातिहरूलाई प्रकाश दिने ज्‍योति हुनुहुन्‍छ ।”
33 बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए ।
34 त्‍यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होशियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ ।
35 साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”
36 एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्‍यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि तिनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् ।
37 त्‍यसपछि तिनी चौरासी वर्ष विधवा नै रहिन् । तिनले मन्‍दिर कहिल्यै नछोडी निरन्‍तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन् ।
38 त्‍यही समयमा तिनी त्‍यहाँ आइन् र परमेश्‍वरलाई धन्‍यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई तिनले बालकको बारेमा बताइन् ।
39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
40 बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो ।
41 उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्‍थे ।
42 जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।
43 चाडका पुरा दिनहरू त्‍यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन ।
44 तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्‍छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्‍यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बीचमा खोज्‍न थाले ।
45 जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले ।
46 तिन दिनपछि, उनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूको बीचमा सुन्‍दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए ।
47 जतिले उहाँका कुरा सुन्‍थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्‍थे ।
48 जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ ? सुन ! तिम्रा बुबा र मैले कति चिन्‍तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।”
49 उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको ? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?”
50 तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् ।
51 त्‍यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्‍तर बढ्दै जानुभयो ।
Childhood of Jesus