मर्कूस 9:1-13
9
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्‍ये केहीले परमेश्‍वरको राज्‍य शक्‍तिसित आएको देख्‍नुअगि मृत्‍यु चाख्‍नेछैनन् ।
2 ६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्‍यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।
3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्‍यतिको सेतो बनाउन सक्दैनथ्यो ।
4 त्‍यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।
5 पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्‍यू, हामीलाई यहाँ बस्‍न असल छ । त्‍यसैले, यहाँ हामी तीन वटा बस्‍ने ठाउँ बनाऔँः एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
6 (तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
7 बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”
8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।
9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्‍युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।
10 त्‍यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्‍युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।
11 तिनीहरूले उहाँलाई सोधे “शास्‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त ?”
12 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । मानिसका पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त ?”
13 तर म तिमीहरूलाई यो भन्‍छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे ।”
मर्कूस 9:14-32
14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो, र शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।
15 जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।
16 उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ ?”
17 भीडमध्‍येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्‍यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्‍यसलाई भूत लागेको छ जसले त्‍यसलाई बोल्न दिँदैन,
18 र यसले यसलाई पक्रन्‍छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्‍ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।”
19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग रहुँला? कति समयसम्म म तिमीहरूलाई सहनु ? त्‍यसलाई मकहाँ ल्याओ ।”
20 तिनीहरूले त्‍यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्‍यो आत्माले त्‍यस केटोलाई जोरले काम्‍न लगायो । त्‍यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्‌यो ।
21 येशूले त्‍यसको बुबालाई सोध्‍नुभयो, “यस्तो भएको कति भयो ?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
22 यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्‍थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्‍नुहुन्‍छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
23 येशूले तिनलाई भन्‍नुभयो, “ ‘यदि तपाईंले गर्न सक्‍नुहुन्‍छ' भनी के भनेको? विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
24 तुरुन्‍तै त्‍यस बालकको बुबा चिच्‍च्‍याए र भने, “म विश्‍वास गर्छु ! मेरो अविश्‍वासमा सहायता गर्नुहोस् ।”
25 जब येशूले भीड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्‍यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
26 यो चिच्‍च्‍यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो । त्‍यो केटा मरेको जस्‍तै देखियो । त्‍यसैले, धेरैले भने, “ऊ मर्‍यो ।”
27 तर येशूले त्‍यस केटालाई हातले समातेर उठाउनुभयो, र त्‍यो केटा उभियो ।
28 जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ ?”
29 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन ।”
30 उहाँहरू त्‍यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्‍छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो,
31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्‍यसको तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
32 तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।
मर्कूस 9:33-50
33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्‍थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?”
34 तर सबै चुपचाप भए । किनभने तिनीहरूले “को चाहिँ सबै भन्‍दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
35 उहाँ बस्‍नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्‍छ भने त्‍यो सबै भन्‍दा पछिल्लो र सबैको दास हुनुपर्छ ।”
36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्‍यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
38 यूहन्‍नाले उहाँलाई भने, “गुरुज्‍यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्‍यसलाई रोक्यौँ, किनकि त्‍यसले हामीलाई पछ्याउँदैन ।”
39 तर येशूले भन्‍नुभयो, “त्‍यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्दैन ।
40 जो हाम्रो विरुद्धमा छैन, त्‍यो हाम्रो हो ।
41 तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्‍छ भने पनि साँचो साँचो म भन्‍दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
42 ममा विश्‍वास गर्ने यी सानामध्‍ये एक जनालाई ठेस खान लगाउनु भन्‍दा त, त्‍यसलाई त्‍यसको घाँटीमा ठूलो जाँतोको ढुङ्‌गा बाँधेर समुद्रमा फ्याँक्‍नु असल हुने थियो ।
43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुई वटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानु भन्‍दा डुँडो भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्‍छ ।
44 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”
45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ । दुई वटा खुट्टा लिएर नरकमा फालिनु भन्‍दा त लङ्‌गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्‍छ ।
46 (४४ पदको टिप्‍पणीलाई हेर्नुहोस् ।)
47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुई वटा आँखा लिएर नरकमा फालिनु भन्‍दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु नै असल हुन्‍छ ।
48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ ।
50 नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने ? आफू-आफूमा नुन राख र एक-आपसमा शान्‍तिमा बस ।