मर्कूस 10:1-16
10
येशू त्‍यो ठाउँ छोडेर यहूदियाको प्रान्‍त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भीड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्‍थ्यो ।
2 अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्‍छेद गर्नु उचित हो ?”
3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन् ?”
4 तिनीहरूले भने, “मोशाले पत्‍नीलाई त्‍यागपत्र दिन र त्‍यसलाई पठाइदिन अनुमति दिए ।”
5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”
6 तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’
7 यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्‍छ,
8 र दुई जना एउटै शरीर हुन्‍छन् ।’ त्‍यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।
9 त्‍यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले अलग नगरोस् ।”
10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”
11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्‍छेद गर्छ र अर्कीसँग विवाह गर्छ, उसले त्‍यसको विरुद्धमा व्यभिचार गर्छ ।
12 र यदि तिनले आफ्नो पतिसँग विवाहविच्‍छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्‍यसले व्यभिचार गर्छ ।”
13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
14 तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्‍य यस्तैहरूको हो ।”
15 साँचो साँचो, म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्‍यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
16 त्‍यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्‌गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष्‌‌ दिनुभयो ।
मर्कूस 10:17-34
17 उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्‍ती गर्‍यो, “हे असल गुरु, अनन्‍त जीवनको हकदार हुन मैले के गर्नुपर्छ ?”
18 येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्‍दछौ ? परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
19 तिमी यी आज्ञाहरू जान्‍दछौः हत्‍या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
20 त्‍यो मानिसले भन्‍यो, “गुरुज्‍यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”
21 येशूले त्‍यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्‍यसपछि आऊ र मेरो पछि लाग ।”
22 तर यो भनाइको कारण त्‍यो निरुत्साहित भयो; त्‍यो धेरै दुःखित भएर त्‍यहाँबाट गयो, किनभने त्‍यससँग धेरै धन सम्पत्ति थियो ।
23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्न अति कठिन छ !”
24 चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ !”
25 धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु भन्‍दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्‍छ ।”
26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्‍यसो हो भने, कसले उद्धार पाउन सक्छ त ?”
27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्‍छ, तर परमेश्‍वरको लागि होइन । परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।”
28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्‍यागेर तपाईंलाई पछ्याएका छौँ ।”
29 येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्‍याग्छ,
30 त्‍यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्‍त जीवन पाउनेछ ।
31 तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”
32 उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्‍थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्‍थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र अब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।
33 “हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्‍यहाँ मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्‍यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।
34 तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्‍युमा पुर्‍याउनेछन् । तर तीन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”
मर्कूस 10:35-52
35 जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्‍यू, हामीले तपाईंसँग जे माग्‍छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्‍छौँ ।”
36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्‍छौ ?”
37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्‍ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍न दिनुहोस् ।”
38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्‍दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ ?”
39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ ।
40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”
41 जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले ।
42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्‍दछौ ।
43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्‍छा गर्छ, त्‍यो तिमीहरूका सेवक हुनुपर्छ ।
44 र तिमीहरूमध्‍ये जो पहिलो हुने इच्‍छा गर्छ, त्‍यो सबैको दास हुनुपर्छ ।
45 किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।
46 उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठूलो भीडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो ।
47 जब त्‍यसले येशू नासरी भन्‍ने सुने, त्‍यो कराउन थाल्यो र भन्‍यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् !”
48 धेरैले चुप लाग भनी त्‍यो दृष्‍टिविहीन मानिसलाई हप्काए । तर त्‍यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
49 येशू रोकिनुभयो र त्‍यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्‍यसलाई बोलाए, “साहस गर ! खडा होऊ ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्‍छ ।”
50 त्‍यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
51 येशूले त्‍यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्‍छौ ?” त्‍यो दृष्‍टिविहीन मानिसले भन्‍यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्‍छु ।”
52 येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्‍यो तुरुन्‍तै फेरि देख्‍न सक्यो र त्‍यो उहाँको पछिपछि लाग्यो।