मर्कूस 8:1-21
8
ती दिनमा त्‍यहाँ फेरि एउटा ठुलो भीड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
2 “यो भीडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्‍तर तीन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
3 यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्‍ये कोही धेरै टाढाबाट आएका छन् ।”
4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ ?”
5 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन् ?” तिनीहरूले भने “सात वटा ।”
6 उहाँले भीडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सात वटा रोटी लिनुभयो; धन्‍यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्‍यसको लागि धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
9 त्‍यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
10 त्‍यसपछि तुरुन्‍तै उहाँ चेलाहरूसँग डुङ्‌गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
12 उहाँले आत्मामा सुस्केरा हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ ? साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
13 त्‍यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्‌गामा चढ्नुभयो र तालको पारिपट्टि जानुभयो ।
14 अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्‌गामा एउटा भन्‍दा बढी रोटी थिएन ।
15 उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होशियार बस ।”
16 चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
17 येशू यसप्रति सजग हुनुहुन्‍थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ ? के तिमीहरू अझै महसुस गर्दैनौ ? के तिमीहरू बुझ्दैनौ ? तिमीहरूको हृदय यति कठोर भएको छ ?
18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्‍दैनौ ? के तिमीहरूले सम्झँदैनौ ?
19 जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
20 “अनि जब मैले चार हजारका बीचमा सात वटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
21 उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ ?”
मर्कूस 8:22-38
22 उहाँहरू बेथसेदामा आउनुभयो । त्‍यहाँ मानिसहरूले एउटा दृष्‍टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्‍यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्‍ती गरे ।
23 येशूले त्‍यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्‍यसको आँखामा थुक्‍नुभयो, र त्‍यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्‍यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ ?”
24 त्‍यसले हेर्‍यो र भन्‍यो, “म मानिसहरू रुखहरू जस्‍तै हिँडेको देख्‍छु ।”
25 उहाँले फेरि आफ्नो हात त्‍यसका आँखामा राख्‍नुभयो, र त्‍यस मानिसले त्‍यसका आँखा खोल्यो अनि त्‍यसको दृष्‍टि पुनः प्राप्‍त भयो र त्‍यसले सबै थोक स्पष्‍टसँग देख्यो ।
26 येशूले त्‍यसलाई त्‍यसको घर पठाउनुभयो र भन्‍नुभयो, “त्‍यस सहरमा नपस ।”
27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्‍पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्‍छन् ?”
28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्‍ये एक’ भन्‍छन् ।”
29 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्‍छौ ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ”
30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।
31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तीन दिनपछि फेरि मृत्‍युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।
32 उहाँले यो स्पष्‍टसँग भन्‍नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले ।
33 तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान ! तैँले परमेश्‍वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।”
34 त्‍यसपछि उहाँले भीड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्‍छ भने, त्‍यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्‍यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ ।
35 किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ त्‍यसले त्‍यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्‍यसले यसलाई बचाउनेछ ।
36 मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्‍छ र ?
37 मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र ?
38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्‍यससँग शर्माउनेछ ।”