मर्कूस 5:1-20
5
----[उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
2 जब येशू डुङ्‌गाबाट ओर्लंदै हुनुहुन्‍थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।
3 त्‍यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्‍यसलाई रोक्‍न सकेको थिएन; त्‍यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।
4 त्‍यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखिएको थियो । त्‍यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्‍यसको ठिँगुरोलाई तोडिदिन्‍थ्यो । त्‍यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।
5 हरेक दिन र रात डाँडाहरूमा र त्‍यो चिहान घारीमा चिच्‍च्‍याउँथ्यो र त्‍यसले धारिलो ढुङ्‌गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।
6 जब त्‍यसले येशूलई टाढैबाट देख्यो, त्‍यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्‍टो पर्‍यो ।
7 त्‍यसले ठुलो स्वरमा कराएर भन्‍यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ ? म परमेश्‍वरको नाउँमा बिन्‍ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
8 किनभने येशूले त्‍यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्‍यो मानिसबाट बाहिर निस्किआइज ।”
9 उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो ?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
10 त्‍यसले उहाँलाई त्‍यस क्षेत्रबाट बाहिर ननिकालिदिन निरन्तर बिन्‍ती गर्‍यो ।
11 त्‍यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
12 अनि तिनीहरूले यसो भन्‍दै उहाँसँग बिन्‍ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”
13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्‍यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू आए।
15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्‍यसलाई लुगा लगाएर मन ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्‍यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
18 जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्‍थ्यो त्‍यो भूत लागेको मानिसले त्‍यो पनि उहाँसँगै जान उहाँलाई बिन्‍ती गर्‍यो ।
19 तर येशूले त्‍यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्‍नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
20 त्‍यसकारण, त्‍यो मानिस गयो र डेकापोलिसमा येशूले त्‍यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।
मर्कूस 5:21-43
21 येशू फेरि डुङ्‌गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
22 यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
23 उनले यसो भन्‍दै बारम्बार बिन्‍ती गरे, “मेरी सानी छोरी मृत्‍युको मुखमा परेकी छे । म तपाईंलाई बिन्‍ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”
24 त्‍यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भीडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
25 त्‍यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
26 तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन, बरु तिनको अवस्था झनझन खराब मात्र हुँदै गयो ।
27 तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्‍यसैले, उहाँ भीडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
28 किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
29 जब तिनले उहाँलाई छोइन्, रगत बग्‍न रोकियो, अनि तिनले आफू आफ्‍नो कष्‍टबाट निको भएकी महसुस गरिन् ।
30 येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्‍तै थाहा पाउनुभयो । अनि उहाँ भीडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो ?”
31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्‍नुहुन्‍छ, अनि तपाईं भन्‍नुहुन्‍छ ‘मलाई कसले छोयो’ ?”
32 तर येशूले यो कसले गरेको थियो भनी देख्‍न वरिपरि हेर्नुभयो ।
33 ती स्‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्‍टो परिन् र सबै सत्‍यता उहाँलाई बताइन् ।
34 उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्‍तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्‍दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने ?”
36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ । विश्‍वास मात्र गर ।”
37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेका र विलाप गरिरहेका देख्‍नुभयो ।
39 जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास हुन्छौ र रुन्‍छौ ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
40 उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा जानुभयो ।
41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्‍छ, “सानी नानी, म तिमीलाई भन्‍दछु, उठ ।”
42 तुरुन्‍तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्‍यन्‍तै चकित भए ।
43 उहाँले त्‍यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनू भनी भन्नुभयो ।