मर्कूस 6:1-13
6
उहाँ त्‍यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।
2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए ? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन् ?”
3 “के यिनी सिकर्मी होइनन् र ? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र ? के यिनका बहिनीहरू हामीसित छैनन् र ?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।
4 येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।”
5 केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्‍यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन ।
6 तिनीहरूको अविश्‍वासले उहाँलाई अच्‍चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो ।
7 उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो ।
8 र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्‍न दिनुभयो ।
9 तर उहाँले चप्‍पल लगाउन र दुई वटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो ।
10 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्‍यो ठाउँ नछोडेसम्‍म त्‍यहीँ बस ।
11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्‍यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”
12 तिनीहरू त्‍यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे ।
13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।
मर्कूस 6:14-29
14 हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्‍युबाट जीवित भई उठे । त्‍यसैले, यी आश्‍चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।”
15 अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्‍ताहरूमध्‍ये एक हुन् ।”
16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन् !”
17 किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास (तिनको भाइकी पत्‍नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए ।
18 किनभने यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तपाईंलाई उचित छैन भनेका थिए ।”
19 तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्‍थिन्, तर सकेकी थिइनन्,
20 किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्‍दा हेरोद विचलित हुन्‍थे, तरै पनि खुसीसाथ सुन्‍थे ।
21 त्‍यसपछि एउटा उपयुक्‍त मौका मिल्यो । हेरोदले तिनको जन्‍म दिनमा आफ्ना भारदारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।
22 हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन् । राजाले त्‍यस केटीलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।”
23 तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्‍यको आधा भागसम्म पनि दिनेछु ।”
24 तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।”
25 तिनी तुरुन्‍तै राजाकहाँ आइन् र यसो भन्‍दै मागिन्, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्‍छु ।”
26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् ।
27 त्‍यसैले, राजाले आफ्ना रक्षकहरूमध्‍ये एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे ।
28 सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् ।
29 त्‍यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।
मर्कूस 6:30-56
30 अनि प्रेरितहरू येशूको वरिपरि भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए ।
31 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।
32 त्‍यसैले, उहाँहरू डुङ्‌गा चढेर निर्जन स्थानतिर जानुभयो ।
33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरू भन्‍दा अगि नै त्‍यस ठाउँमा पुगे ।
34 जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्‌याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरू जस्‍तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।
35 जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।
36 उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”
37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ ?”
38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन् ? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”
39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो ।
40 उनीहरू सय र पचासको समूह- समूहमा बसे ।
41 जब उहाँले पाँच रोटी र दुई वटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो अनि त्‍यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुई वटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।
42 तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए ।
43 तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।
44 त्‍यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।
45 उहाँका चेलाहरूलाई डुङ्‌गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँ भन्‍दा अगि जना लगाउनुभयो ।
46 जब तिनीहरू गए, त्‍यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।
47 साँझ पर्‍यो, र अब डुङ्‌गा समुद्रको बीचमा थियो, र उहाँ पाखामा एकलै हुनुहुन्‍थ्यो ।
48 तिनीहरूलाई डुङ्‌गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो ।
49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्‍थ्यो भनेर तिनीहरू चिच्‍च्‍याए,
50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्‍तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”
51 उहाँ तिनीहरूसँगै डुङ्‌गामा चढ्नुभयो, र बतास चल्न छोड्‌यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।
52 किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर भएको थियो ।
53 जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्‌गालाई त्‍यहीँ अड्‍याए ।
54 जब उहाँहरू डुङ्‌गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्‍तै चिने ।
55 तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्‍छ भनी तिनीहरूले सुने तिनीहरूले त्‍यहाँ-त्‍यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले ।
56 जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्‍थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्‍ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्‍थे ।