मर्कूस 4:1-20
4
फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो । अनि धेरै ठुलो भीड उहाँको वरिपरि भेला भयो । त्‍यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्‌गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भीड समुद्र किनारको छेउमा थिए ।
2 उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्‍तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,
3 “सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।
4 त्‍यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।
5 अरू बिउहरूचाहिँ त्‍यति माटो नभएको ढुङ्‌गेनी जमिनमा परे । तिनीहरू तुरुन्‍तै उम्रिए, किनभने त्‍यहाँ माटो गहिरो थिएन ।
6 तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।
7 अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।
8 अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणा भन्‍दा बढी फल फलाए ।”
9 अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस् ।”
10 येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्‍तको बारेमा उहाँसँग सोधे ।
11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्‍यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्‍तहरूमा भनिएको छ ।
12 त्‍यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्‍छन्, हो, तिनीहरूले सुन्‍छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्‍थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”
13 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्‍त बुझ्दैनौ ? त्‍यसो भए, तिमीहरूले अरू दृष्‍टान्‍तहरू कसरी बुझ्‍नेछौ ?”
14 बिउ छर्नेले वचन छर्छ ।
15 वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्‍छन्, र तुरुन्‍तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्‍छ ।
16 ढुङ्‌गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्‍छन्, तिनीहरूले यसलाई तुरुन्‍तै आनन्‍दसाथ ग्रहण गर्छन् ।
17 तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्‌कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्‍तै ठेस खान्‍छन् ।
18 अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्‍छन्,
19 तर संसारको फिक्री, धन-सम्पत्तिको मोह र अन्‍य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्‍छन् र यो फलदायी हुँदैन ।
20 असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्‍छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”
मर्कूस 4:21-41
21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ ।
22 किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन ।
23 यदि कसैको सुन्‍ने कान छ भने, त्‍यसले सुनोस् ।”
24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्‍छौ, किनभने त्‍यसमा ध्‍यान देओ, किनभने जुन नापले तिमीहरू नाप्‍छौ, त्‍यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ ।
25 किनभने जोसँग छ, त्‍यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्‍यससँग भएको पनि खोसिनेछ ।”
26 येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य जमिनमा बिउ छर्ने मानिस जस्‍तो हो ।
27 ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्‍छ र बढ्छ ।
28 जमिन आफैँले फल फलाउँछः पहिला टुसा पलाउँछ, त्‍यसपछि बाला लाग्छ अनि बालामा दाना लाग्छ ।
29 जब अन्‍न पाक्छ, तुरुन्‍तै उसले त्‍यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”
30 उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्‍यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्‍त प्रयोग गर्न सकिन्‍छ ?
31 यो रायोको बिउको दाना जस्‍तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्‍ये यो सबै भन्‍दा सानो हुन्‍छ ।
32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवा भन्‍दा ठुलो हुन्‍छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्‍यसको छहारीमा गुँड बनाउन सकून् ।
33 यस्ता धेरै दृष्‍टान्‍तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।
34 अनि उहाँले दृष्‍टान्‍तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।
35 त्‍यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “समुद्रको पारिपट्टि जाऔँ ।”
36 त्‍यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्‍यो भीडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्‌गामा हुनुहुन्‍थ्यो । उहाँसँग अरू डुङ्‌गाहरू पनि साथमा थिए ।
37 त्‍यहाँ भयङ्‌कर आँधी चल्न थाल्यो र छालहरू डुङ्‌गामा पस्‍न लागे, अनि डुङ्‌गा पानीले भरिन लाग्यो ।
38 तर येशू डुङ्‌गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्‍यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन ?”
39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्‍त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्‍यहाँ सन्‍नाटा छायो ।
40 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्‍वास छैन ?”
41 तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्‍छन् ?”