मर्कूस 3:1-19
3
उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्‍यहाँ एक जना हात सुकेको मानिस थियो ।
2 उहाँले त्‍यसलाई शबाथको दिनमा निको पार्नुहुन्‍छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।
3 येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”
4 तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा खराबी गर्नु कुन उचित हुन्‍छ; जीवन बचाउनु वा नाश गर्नु कुन उचित हुन्‍छ ?” तर उनीहरू चुप लागे ।
5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्‍यसले हात पसार्‍यो र येशूले त्‍यसका हातलाई पहिलेको जस्‍तै बनाइदिनुभयो ।
6 तुरुन्‍तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्‌यन्‍त्र रचे ।
7 तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,
8 यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भीड पछि लाग्यो र उहाँकहाँ आयो ।
9 भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्‌गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।
10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्‍यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।
11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्‍याउँथे, अनि तिनीहरूले भन्‍थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।”
12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।
13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए ।
14 उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्,
15 अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।
16 अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो;
17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;
18 अनि अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी,
19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दियो ।
मर्कूस 3:20-35
20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भीड जम्मा भए । त्‍यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन ।
21 जब उहाँको परिवारले यसबारे सुने, तिनीहरू उहाँलाई फर्काएर ल्याउन गए, किनकि तिनीहरूले भने, “उहाँको मन बिग्रेको छ ।”
22 यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने, “त्‍यसलाई बालजिबुल लागेको छ” र “त्‍यसले भूतहरूका मालिकद्वारा भूतहरू निकाल्छ ।”
23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ ?”
24 यदि राज्‍य आफैँमा विभाजित हुन्‍छ भने, त्‍यो राज्‍य टिक्‍न सक्दैन ।
25 यदि घर आफैँमा विभाजित हुन्‍छ भने, त्‍यो घर टिक्‍न सक्दैन ।
26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्‍यो टिक्‍न सक्दैन, तर त्‍यसको अन्‍त आएको हुन्‍छ ।
27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्‍यसको घरमा पस्‍न र त्‍यसका सम्पत्ति चोर्न सक्दैन, त्‍यसपछि त्‍यसले त्‍यसको घर लुट्नेछ ।
28 म तिमीहरूलाई साँचो साँचो भन्‍दछु, कि मानिसहरूका सन्‍तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्‍वर-निन्‍दा पनि क्षमा गरिनेछन्,
29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्‍दा कहिल्यै क्षमा हुनेछैन, तर त्‍यो अनन्‍त पापको दोषी हुन्‍छ ।
30 येशूले यसो भन्‍नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “ऊसँग अशुद्ध आत्मा छ ।”
31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए ।
32 एउटा भीड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।”
33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन् ?”
34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन् !”
35 जसले परमेश्‍वरको इच्‍छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”