मर्कूस 2:1-12
2
केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्‍छ भन्‍ने सुनियो ।
2 यति धेरै मानिसहरू भेला भए, कि त्‍यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।
3 केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्‍यसलाई बोकिरहेका थिए ।
4 भीडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् । तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्‍यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे ।
5 तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।”
6 तर त्‍यहाँ बसिरहेका शास्‍त्रीहरूमध्‍ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।
7 “यो मानिसले कसरी यसरी बोल्न सक्छ ? यसले त ईश्‍वर-निन्‍दा गर्‍यो ! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ ?”
8 तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्‍तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ ?”
9 पक्षाघाती मानिसलाई के भन्‍न सजिलो हुन्‍छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्‍नु ?”
10 तर तिमीहरूले यो जान्‍न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्‍नुभयो,
11 “म तिमीलाई भन्‍दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”
12 त्‍यो मानिस उठ्‍यो र तुरुन्‍तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्‍यसैले, तिनीहरू छक्‍क परे, र परमेश्‍वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।”
मर्कूस 2:13-28
13 फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भीड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो ।
14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।
15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्‍थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्‍यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए ।
16 जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्‍छ ?”
17 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्‍यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”
18 यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन् ?”
19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के जन्‍ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र ? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् ।
20 तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् ।
21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्‍यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्‍यातेर जानेछ, अनि उक्‍त फटाइ झनै नराम्रो हुनेछ ।
22 कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै नष्ट हुनेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।”
23 शबाथ-दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले ।
24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन् ?”
25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ ?”
26 अबियाथार प्रधान पूजाहारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र परमेश्वरलाई चढाइएको रोटी खाए, जुन पूजाहारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए ?
27 येशूले भन्‍नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।
28 यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो ।”