मत्ती 19:1-15
19
जब येशूले यी कुराहरू भनेर सिद्ध्‍यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।
2 एउटा ठूलो भीडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्‍याग्‍नु उसको निम्ति न्‍यायसङ्‌गत हुन्‍छ ?”
4 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो ?”
5 अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’
6 यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्‍यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्‌याओस् ।”
7 तिनीहरूले उहाँलाई भने, “त्‍यसो भए मोशाले हामीलाई त्‍यागपत्र लेखेर त्‍याग्‍ने आज्ञा किन दिए त ?”
8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्‍याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।
9 म तिमीहरूलाई भन्‍दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्‍याग्छ, र अर्कीसँग विवाह गर्छ, त्‍यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्‍यस त्‍यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”
10 चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्‍छ भने, विवाह नगर्नु नै असल हो ।”
11 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ ।
12 किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्‍यस्तै जन्‍मे । र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए । र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्‍यको निम्ति आफैलाई नपुंसक बनाए । जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्‍छ, उसले ग्रहण गरोस् ।”
13 त्‍यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
14 तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्‍य यिनीहरूकै हो ।”
15 अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्‍यसपछि त्‍यहाँबाट निस्कनुभयो ।
मत्ती 19:16-30
16 हेर, एक जना मानिस येशूकहाँ आयो र भन्‍यो, “गुरुज्‍यू, मैले अनन्‍त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ ?”
17 येशूले उसलाई भन्‍नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ ? एक मात्र असल हुनुहुन्‍छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्‍छौ भने, आज्ञाहरू पालन गर ।”
18 त्‍यो मानिसले उहाँलाई भन्‍यो, “कुन आज्ञाहरू ?” येशूले भन्‍नुभयो, “हत्‍या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो गवाही नदिनू,
19 आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्नू ।”
20 त्‍यो जवान मानिसले उहाँलाई भन्‍यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ ?”
21 येशूले उसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्‍छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्‍यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ । त्‍यसपछि आएर मलाई पछ्याऊ ।”
22 तर जब त्‍यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्‍यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्‍पत्ति भएको मानिस थियो ।
23 येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, धनी मानिसलाई स्वर्गको राज्‍यमा प्रवेश गर्न धेरै कठिन हुन्‍छ ।
24 म फेरि तिमीहरूलाई भन्‍दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु भन्‍दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्‍छ ।”
25 जब चेलाहरूले यो सुने, तिनीहरू सार्‍है छक्‍क परे र भने, “त्‍यसो भए को बचाइन सक्छ ?”
26 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छन् ।”
27 त्‍यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्‍यागेका छौं र तपाईंलाई पछ्याएका छौं । तब हामीले के पाउनेछौं ?”
28 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्‍ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्‍याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्र वटा सिंहासनमा बस्‍नेछौ ।
29 प्रत्‍येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा जग्गाजमिन त्‍यागेको छ, त्यसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्‍त जीवनको अधिकार पाउनेछ ।
30 तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।