मत्ती 18:1-20
18
त्‍यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्‍यमा सबै भन्‍दा ठूलो को हो ?”
2 येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्‍नुभयो,
3 र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालक जस्‍तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ ।
4 त्‍यसैले, जसले यी सानो बालकले झैं आफूलाई नम्र तुल्याउँछ, त्‍यो मानिस नै स्वर्गको राज्‍यमा सबै भन्‍दा महान् हुन्‍छ ।
5 अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई ग्रहण गर्छ, उसले मलाई ग्रहण गर्छ।
6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्‍यसको गलामा एउटा ठूलो ढुङ्‌गो झुण्ड्‌याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
7 कठिनाइको समयको कारण यस संसारलाई धिक्‍कार ! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्‍यस मानिसलाई धिक्‍कार जसद्वारा यस्तो समय आउँछ !
8 यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्‍यसलाई काटिदेऊ र त्‍यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्‍त आगोमा फालिनु भन्‍दा लुलो वा लङ्‌गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्‍छ ।
9 यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्‍यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्‍त आगोमा फालिनु भन्‍दा एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्‍छ ।
10 होशियार रहो, यी सानाहरूमध्‍ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्‍दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैं मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्‍छ ।
11 किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् ।
12 तिमीहरू के विचार गर्छौ ? यदि कुनै मानिससँग एक सय वटा भेडा छन्, अनि तीमध्‍ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्‍यस हराएकोलाई खोज्‍न हिँड्दैन र ?
13 अनि साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि उसले त्‍यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडा भन्‍दा त्‍यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ ।
14 त्‍यसरी नै, यी सानाहरूमध्‍ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्‍छा गर्नुहुन्‍न ।
15 यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्‍छ भने, तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ ।
16 तर यदि उसले तिम्रो कुरा सुन्‍दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तीन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्‍य ठहरिओस् ।
17 र यदि उसले तिनीहरूको कुरा पनि सुन्‍न इन्कार गर्दछ भने, यो विषय मण्डलीलाई बताऊ । यदि उसले मण्डलीलाई पनि सुन्‍न इन्कार गर्दछ भने, ऊ तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस् ।
18 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जे कुराहरू तिमी संसारमा बाँध्छौ, त्‍यो स्वर्गमा पनि बाँधिनेछ । अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ, त्‍यो स्वर्गमा फुकाइनेछ ।
19 अझ म तिमीहरूलाई भन्‍दछु, यदि तिमीहरूमध्‍ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्‍छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्‍यो गरिनेछ ।
20 किनकि जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, म तिनीहरूका माझमा हुनेछु ।”
मत्ती 18:21-35
21 अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले उसलाई क्षमा गरूँ ? के सात पल्टसम्म ?”
22 येशूले उनलाई भन्‍नुभयो, “म तिमीलाई सात पटक भनेर भन्‍दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।
23 यसैकारण, स्वर्गको राज्‍यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
24 जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।
25 तर त्‍यस नोकरसित त्‍यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्‍यसका मालिकले त्‍योसहित त्‍यसकी पत्‍नी, त्‍यसका बालबच्‍चा र सबथोक बेचेर त्‍यो तिर्न आदेश दिए ।
26 त्‍यसैले, त्‍यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो, अनि भन्‍यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’
27 त्‍यसैले, त्‍यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्‍यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।
28 तर त्‍यस नोकर बाहिर गयो र त्‍यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्‍यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्‍यसले उसलाई पक्रियो, र घाँटीमा समात्‍यो, र भन्‍यो, ‘तैंले मलाई जे तिर्नुपर्नेछ, त्‍यो तिरिहाल् ।’
29 तर त्‍यसको नोकरले घुँडा टेक्यो र त्‍यसलाई बिन्‍ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’
30 तर त्‍यो पहिलो नोकरले इन्कार गर्‍यो । बरु, त्‍यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो ।
31 जब त्‍यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्‍यो देखे, उनीहरू अत्‍यन्‍तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्‍यो सबै उनीहरूका मालिकलाई सुनाइदिए ।
32 त्‍यसपछि त्‍यस नोकरका मालिकले त्‍यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैंले मलाई बिन्‍ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।
33 मैले तँमाथि दया गरेझैं के तैंले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो ?’
34 त्‍यसका मालिक रिसाए र त्‍यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्‍यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।
35 यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।