4
किनभने हेर, त्‍यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्‍यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ ।2 तर मेरो नाउँको भय मान्‍नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ ।3 त्‍यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ ।4 “मेरा दास मोशाका शिक्षालाई याद गर, जुन विधि र नियमहरू मैले त्‍यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ ।5 हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु ।6 त्‍यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, जसका कारण म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ ।”