3
“हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्”, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ र ? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र ? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ ।3 उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।4 त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्न तुल्याउने किसिमको हुनेछ ।5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झूटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्धमा म झट्टै साक्षी हुनेछु”, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।6 “किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ ।7 तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु”, सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने ?’8 के कुनै मानिसले परमेश्वरलाई लुट्छ ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ ?’ दशांश र भेटीमा ।9 तिमीहरू श्रापित भएका छौ, किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ ।10 भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्ने ठाउँ नहुनेसम्म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर”, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।11 “तिमीहरूका बालीहरू नष्ट गर्नेहरूको विरुद्धमा म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्मै फसल नष्ट नगरून् । बारीमा भएका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्”, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।12 “सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ”, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।13 “मेरो विरूद्धमा तिमीहरूका वचन कडा भएका छन्”, परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बीचमा तपाईंको विरुद्धमा के भनेका छौँ ?’14 तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ ?15 यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्वरलाई जाँच गरेर उम्कन्छन् ।’ ।16 अनि परमप्रभुको भय मान्नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्नुभयो, र परमप्रभुको भय मान्ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो ।17 “तिनीहरू मेरा हुनेछन्”, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “मैले काम गर्ने दिनमा, मेरो आफ्नै धन-सम्पत्ति । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु ।18 अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्ट बीचमा भिन्नता छुट्ट्याउनेछौ, तिनीहरूको बीचमा जसले परमेश्वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।”