5
अनि म फर्केँ र मेरो नजर उठाएर हेर्दा मेरो अगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखेँ ।2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।3 अनि तिनले मलाई भने, “यो त्‍यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्‍यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्‍यसको आधारमा झूटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।4 “म यो पठाउनेछु, अनि त्‍यो चोरको घरमा र मेरो नाउँको झूटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्‍छ । त्‍यो त्‍यस घरभित्रै रहनेछ र त्‍यसका काठहरू र ढुङ्‌गाहरूलाई ध्वस्त पार्नेछ ।5 त्‍यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाऊ र आउन लागेको कुरा हेर !6 मैले भनेँ, “त्‍यो के हो ?” तिनले भने, “यो एउटा नाप्‍ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।7 अनि त्‍यस डालोको ढक्कन उठाइयो र त्‍यस डालोभित्र एउटी स्‍त्री थिई ।8 स्वर्गदूतले भने, “योचाहिँ दुष्‍टता हो !” तिनले त्‍यस स्‍त्रीलाई त्‍यस डालोभित्र फेरि फ्याँकिदिए, र त्‍यसको ढक्कन लगाइदिए ।9 मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्‍त्रीहरू मतिर आइरहेको देखेँ, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्‍यो डालोलाई पृथ्वी र आकाशको बीचमा पुर्‍याए ।10 यसैले मसँग बोलिरहेका स्वर्गदूतलाई मैले भनेँ, “तिनीहरूले त्‍यो डालो कहाँ लैजाँदै छन् ?11 तिनले मलाई भने, “त्‍यसको निम्ति बेबिलोनिया देशमा मन्‍दिर बनाउनको निम्ति । मन्‍दिर तयार भएपछि, डालो राख्‍नको निम्ति बनाइएको स्थानमा त्‍यो राखिनेछ ।”