12
“त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसहरूमध्ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् ।2 पृथ्वीको माटोमा सुतेकाहरूमध्ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् ।3 बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैँ चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू सदाको निम्ति ताराहरूझैँ हुनेछन् ।4 तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहोर लगाएर राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।5 तब, म, दानिएलले हेरेँ, र त्यहाँ अरू दुई जना खडा थिए । एक जना नदीको यतापट्टिको किनारमा, र एक जना नदीको अर्कोपट्टिको किनारमा खडा थिए ।6 तीमध्ये एक जनाले नदीको माथि भएका मलमलको लुगा लगाउने मानिसलाई सोधे, “यी अचम्मका घटनाहरू पूरा हुन कति समय लाग्नेछ ?7 नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनेँ - तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ । आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन् ।8 मैले सुनेँ, तर मैले बुझिनँ । यसैले मैले सोधेँ, “ए मेरा मालिक, यी सबै कुराहरूको परिणाम के हुनेछ ?9 तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहोर लगाइएका छन् ।10 धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्, र खारिनेछन्, तर दुष्टहरूले दुष्ट काम गर्नेछन् । दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्हरूले बुझ्नेछन् ।11 दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्थापना गरिएको समयदेखि, त्यहाँ १,२९० दिन हुनेछन् ।12 त्यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खन्छ ।13 अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”