10
फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्थ्यो । यो सन्देश साँचो थियो । यो एउटा ठूलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्टि पाएपछि दानिएलले यो सन्देश बुझे ।2 ती दिनहरूमा म दानिएल, तीन हप्तासम्म शोक गरिरहेँ ।3 तीन हप्ता पूरै नबितेसम्म नै मैले कुनै मीठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैलाई तेलले अभिषेक गरेँ ।4 पहिलो महिनाको चौबीसौँ दिनमा, जब म त्यो विशाल नदीको (अर्थात् टाइग्रिस) छेउमा थिएँ,5 मैले माथि हेरेँ र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखेँ, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।6 तिनको शरीर पीतमणि जस्तो र तिनको अनुहार बिजुली जस्तो थियो । तिनका आँखा बलिरहेका राँको जस्ता थिए, र तिनका हात र खुट्टाहरू टल्काइएका काँसा जस्तै थिए । तिनको वचनको आवाज एउटा ठूलो भीडको आवाज जस्तो थियो ।7 म, दानिएल एक्लैले त्यो दर्शन देखेँ, किनकि मसँगै भएका मानिसहरूले त्यो दर्शन देखेनन् । तापनि, तिनीहरूमा एउटा ठूलो त्रास पर्यो, र तिनीहरू आफू लुक्नलाई भागे ।8 यसैले म एक्लै छोडिएँ र यो महान् दर्शन देखेँ । ममा बल बाँकी रहेन । मेरो उज्यालो अनुहार नै अँधयारो भयो, र ममा कुनै शक्ति नै रहेन ।9 तब मैले तिनका शब्दहरू सुनेँ - र मैले ती सुनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ ।10 मलाई एउटा हातले छोयो, र त्यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काम्ने बनायो ।11 ती स्वर्गदूतले मलाई भने, “ए दानिएल, धेरै सम्मान पाएको मानिस, मैले तिमीलाई भनिरहेका वचनलाई बुझ । सीधा खडा होऊ, किनकि मलाई तिमीकहाँ पठाइएको छ ।” तिनले मलाई यो सन्देश बोलेको समयमा थरथर काम्दै म उठेँ ।12 अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्नो परमेश्वरको सामु आफैलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु ।13 तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्यो, र मलाई एक्काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए ।14 तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिँ अझै आउन बाँकी दिनको निम्ति हो ।15 जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ ।16 मानिसका पुत्र जस्तै देखिने एक जनाले मेरो ओठहरूमा छोए, र मैले आफ्नो मुख खोलेँ र मेरो सामु हुनेसँग बात गरेँ, “हे मेरा मालिक, दर्शनको कारणले गर्दा म वेदनामा परेको छु । मसँग बल छैन ।17 म तपाईंको सेवक हुँ । कसरी म आफ्नो मालिकसँग बोल्न सक्छु ? किनकि म जान्दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।18 मानिस जस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए ।19 तिनले भने, “ए धेरै सम्मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस् ! अब साहसी होऊ, बलियो होऊ !” तिनी मसँग बोल्दै गर्दा ममा बल आयो । मैले भनेँ, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।20 तिनले भने, “म तिमीकहाँ किन आएँ के तिमीलाई थाहा छ ? म छिट्टै फारसका राजकुमारसँग यद्ध गर्नलाई फर्कनेछु । म गएपछि, ग्रीसका राजकुमार आउनेछन् ।21 तर सत्यको पुस्तकमा के लेखिएको छ, म तिमीलाई बताउनेछु । तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्धमा मलाई साहसी बनाउन सक्दैनन् ।”