8
राजा बेलसजरले राज्य गर्न सुरु गरेको तेस्रो वर्षमा, (मैले पहिला देखेको दर्शनपछि) म, दानिएलले अर्को दर्शन देखेँ ।2 मैले हेरिरहँदा, दर्शनमा मैले आफूलाई एलाम प्रदेशको शूशनको किल्लामा भएको देखेँ । दर्शनमा म ऊलै नहरको छेउमा थिएँ ।3 मैले माथि हेरेँ र मेरो सामु नहरको छेउमा दुई वटा सीङ भएको एउटा भेडालाई मैले देखेँ । एउटा सीङचाहिँ अर्को भन्दा लामो थियो, तर लामोचाहिँ छोटो भन्दा ढिला बढ्यो र छोटोले त्यसलाई जित्यो ।4 अनि त्यो भेडाले पश्चिममा, त्यसपछि उत्तरमा, र त्यसपछि दक्षिणमा हानिरहेको मैले देखेँ । त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन । तीमध्ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन । आफूलाई जे मन लाग्यो, त्यसले त्यही गर्यो, र त्यो महान् भयो ।5 जब मैले त्यसको बारेमा विचार गरिरहेको थिएँ, तब पश्चिमबाट आउँदै गरेको एउटा बोकोलाई मैले देखेँ, जो जमिनलाई नै नछोए जस्तो गरी द्रूत गतिमा दौडेर सम्पूर्ण पृथ्वीको सतहमा गयो । त्यो बोकोका आँखाहरूका बीचमा एउटा ठूलो सीङ थियो ।6 दुई वटा सीङ भएको भेडाकहाँ त्यो आयो - त्यो भेडालाई नहरको किनारमा खडा भएको मैले देखेको थिएँ - र त्यो बोको उक्त भेडातर्फ शक्तिशाली क्रोधमा दौडियो ।7 त्यो बोकोलाई उक्त भेडाको नजिक आएको मैले देखेँ । भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सीङलाई भाँचिदियो । त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो । बोकोले त्यसलाई भुइँमा ढाल्यो र त्यसलाई कुल्चियो । त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन ।8 तब त्यो बोको धेरै ठूलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठूलो सीङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठूला सीङहरू पलाए जो आकाशका चारै बतासतर्फ फर्किएका थिए ।9 तीमध्येबाट अर्को एउटा सीङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणतर्फ, पूर्वतर्फ, र सुन्दर भूमितर्फ धेरै विशाल भएर गयो ।10 त्यो यति विशाल भयो कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो ।11 त्यसले आफूलाई सेनाको कप्तान जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो ।12 विद्रोहको कारणले, त्यो सेनालाई बोकोको सीङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ । त्यो सीङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ ।13 त्यसपछि एक जना पवित्र जनले बोल्दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिँदै गर्नुभएको मैले सुनेँ, “यी दर्शनका कुराहरू अर्थात् होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका कुराहरू पूरा हुनलाई कति समय लाग्छ ?14 उहाँले मलाई भन्नुभयो, “यो 2,300 साँझ र बिहानसम्म रहनेछ । त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।15 जब म, दानिएलले त्यो दर्शन देखेँ, तब मैले त्यो बुझ्ने कोसिस गरेँ । तब मेरो सामु एक जना खडा भए जो मानिस जस्तो देखिन्थे ।16 ऊलै नहरको किनाराहरूका बीचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनेँ । उहाँले भन्नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्न यस मानिसलाई मदत गर ।17 यसैले तिनी म उभिएको ठाउँ नजिक आए । जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्पसार पारेर दण्डवत् गरेँ । तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्ने कुरा बुझ ।18 तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्टो पारेर म गहिरो निद्रामा निदाएँ । तब तिनले मलाई छोए र मलाई खडा गराए ।19 तिनले भने, “हेर, पछि क्रोधको समयमा के हुनेछ भनेर म तिमीलाई देखाउनेछु, किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो ।20 तिमीले देखेका भेडाको बारेमा, जसका दुई सीङ थिए, ती मादी र फारसका राजाहरू हुन् ।21 त्यो बोकोचाहिँ ग्रीसको राजा हो । त्यसका आँखाका बीचको सीङचाहिँ पहिलो राजा हो ।22 अनि जुन सीङ भाँचियो, जसको ठाउँमा चार वटा अरू उम्रे, उसको राज्यबाट चार वटा राज्य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन ।23 ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सीमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ ।24 उसको शक्ति महान् हुनेछ - तर उसको आफ्नै शक्तिले होइन । उसले विनाश गर्ने कुराहरूमा ऊ अचम्मको हुनेछ । उसले काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बीचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।25 आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्राटुक्रा पारिनेछ, तर मानिसका हातले होइन ।26 साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहोर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।27 अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठेँ, र राजाको कामधन्धामा लागेँ । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।