7
बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबै भन्‍दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः2 दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखेँ ।3 प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न रहेका चार विशाल पशु समुद्रबाट बाहिर आए ।4 पहिलोचाहिँ सिंह जस्‍तो देखिन्‍थ्यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्‍यसका पखेटाहरू च्‍यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैँ दुई खुट्टामा त्‍यसलाई खडा गरियो । त्‍यसलाई मानिसको मन दिइएको थियो ।5 अनि त्‍यहाँ अर्को एउटा भालु जस्‍तो पशु थियो, र त्‍यो झुकिरहेको थियो । आफ्ना दाँतहरूका बीचमा त्‍यसका तीन वटा करङ थिए । त्‍यसलाई यसो भनियो, ‘उठ् र धेरै जना मानिसहरूलाई खा ।’6 त्‍यसपछि मैले फेरि हेरेँ । त्‍यहाँ अर्को एउटा पशु थियो, जुन चितुवा जस्‍तो देखिन्‍थ्यो । त्‍यसको पछाडिपट्टि चराका जस्‍तै चार वटा पखेटा थिए, र त्‍यसका चार वटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्‍यसलाई दिइएको थियो ।7 त्‍यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्‌कर, र धेरै बलियो एउटा चौथो पशु मैले देखेँ । त्‍यसका फलामका ठूला-ठूला दाँत थिए । त्‍यसले चकनाचूर पारी खाइदिन्‍थ्यो, टुक्राटुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्चिन्‍थ्यो । अरू पशु भन्‍दा त्‍यो फरक थियो, र त्‍यसका दश वटा सीङ थिए ।8 जसै मैले ती सीङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरेँ र ती सीङका बीचमा अर्को एउटा सानो सीङ बढ्दै गरेको देखेँ । पहिलो तीन वटा सीङ उखेलिएर झरे । यो सीङका आँखा मानिसका आँखा जस्ता भएको मैले देखेँ र त्‍यसको एउटा मुखले ठूला कुराहरूको सेखी गर्दै थियो ।9 जसै मैले हेरेँ, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरू भन्‍दा प्राचीनले चाहिँ आफ्नो आसन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैँ सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊन जस्‍तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्‍यसका चक्काहरू बलिरहने आगो थियो ।10 उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौँ-लाखले उहाँको सेवा गरे, र दश करोड उहाँको सामु खडा थिए । अदालतले न्‍यायको काम सुरु गर्‍यो, र पुस्तकहरू खोलिए ।11 त्‍यो सीङले बोलेका अहंकारपूर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरेँ । त्‍यो पशु मारिएको र त्‍यसको शरीर नष्‍ट पारिएको, र त्‍यसलाई जलाउनलाई दिइएको मैले देखेँ ।12 चार वटा पशुमध्‍येका अरू बाँकीका बारेमा, राज्‍य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूको उमेर बढाइयो ।13 त्‍यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्र जस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखेँ । दिनहरू भन्‍दा प्राचीनकहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।14 राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, ताकि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिँ सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्‍य त्‍यस्तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।15 म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दुःखित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।16 त्‍यहाँ खडा भएकामध्‍ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरेँ ।17 ‘यी विशाल पशुहरू, जो सङ्ख्यामा चार छन्, चार राजाहरू हुन् जो पृथ्वीमा खडा हुनेछन् ।18 तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्‍यो राज्‍य प्राप्‍त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन् ।’19 अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो - त्‍यो अरू भन्‍दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्‌ग्राका कारणले त्‍यो धेरै डरलाग्दो थियो । त्‍यसले चकनाचूर पारी खाइदिन्‍थ्यो, टुक्राटुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्चिन्‍थ्यो ।20 त्‍यसको शिरमा भएका दश वटा सीङका बारेमा जान्‍ने इच्‍छा मलाई भयो र नयाँ पलाएको अर्को सीङको बारेमा जसको सामु तीन वटा सीङ उखेलिएर झरे । आँखा भएका सीङ र ठूला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्ना मित्रहरू भन्‍दा महान् देखिन्‍थ्यो ।21 जसै मैले हेरेँ, त्‍यो सीङले पवित्र मानिसहरूका विरुद्धमा युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो,22 जबसम्म दिनहरू भन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्‍याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्‍य प्राप्‍त गरे ।23 ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्‍य हुनेछ जुनचाहिँ अरू सबै राज्‍य भन्‍दा फरक हुनेछ । त्‍यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्‍यसलाई कुल्चनेछ र त्‍यसलाई टुक्राटुक्रा पार्नेछ ।24 दश वटा सीङका बारेमा चाहिँ, त्‍यस राज्‍यबाट दश जना राजाहरू खडा हुनेछन्, तिनीहरू भन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेका भन्‍दा ऊ फरक हुनेछ, र उसले तीन जना राजाहरूलाई पराजित गर्नेछ ।25 उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्धमा बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्‍याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।26 तर अदालतले न्‍यायको काम सुरु गर्नेछ, र अन्‍त्‍यमा भस्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।27 राज्‍य र प्रभुत्व, र सम्पूर्ण स्वर्गमुनिका राज्‍यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्‍य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्‍यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’28 कुराको अन्‍त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखेँ ।”