48
कुलहरूका नाम यी नै हुन् । दानको कुलले देशको एक भाग पाउनेछ । त्‍यसको सिमाना इस्राएलको उत्तरी सिमाना भएर हेतलोन र लेबो-हमात हुँदै जानेछ । त्‍यसको सिमाना हसर-एनानसम्म र उत्तरमा दमस्कसको सिमाना र त्‍यसपछि हमातसम्म जानेछ । दानको सिमाना पूर्वदेखि महासमुद्रसम्म जानेछ ।2 दानको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, आशेरले एक भाग पाउनेछ ।3 आशेरको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, नप्तालीले एक भाग पाउनेछ ।4 नप्तालीको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, मनश्शेले एक भाग पाउनेछ ।5 मनश्शेको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, एफ्राइमले एक भाग पाउनेछ ।6 एफ्राइमको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, रूबेनले एक भाग पाउनेछ ।7 रूबेनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, यहूदाले एक भाग पाउनेछ ।8 तिमीहरूले पवित्र रूपमा अलग गर्नुपर्ने जमिन यहूदाको सिमानासँग जोडिएको हुनेछ र त्‍यो पूर्वदेखि पश्‍चिमसम्म जान्‍छ । त्‍यो पच्‍चीस हजार हात चौडा हुनेछ । त्‍यसको लमाइ एउटा कुलको पूर्वदेखि पश्‍चिमसम्मको भागसँग बराबर हुनेछ, र मन्‍दिरचाहिँ त्‍यसको बीचमा हुनेछ ।9 तिमीहरूले परमप्रभुको निम्ति पवित्र रूपमा अलग गर्ने यो जमिन पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ ।10 पवित्र रूपमा अलग यो जमिनको काम यस्तो हुनेछः पूजाहारीहरूका लागि उत्तर भागमा पच्‍चीस हजार हात लामो, पश्‍चिममा दश हजार हात चौडा, पूर्वमा दश हजार हात चौडा र दक्षिणमा पच्‍चीस हजार हात लामो जमिन हुनेछ । त्‍यसको बीचमा परमप्रभुको पवित्र ठाउँ हुनेछ ।11 सादोक वंशका पूजाहारीहरूका निम्ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्‍वस्ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैँ तिनीहरू बरालिर गएनन् ।12 तिनीहरूका निम्ति यो अति पवित्र रूपमा जमिनको एक भाग दानको रूपमा अलग हुनेछ । यो लेवीहरूको सिमानालाई छुनेछ ।13 पूजाहारीहरूको जमिनको सिमानासँग जोडिएर लेवीहरूको जमिन पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ । यी दुई जमिनका सम्पूर्ण क्षेत्र पच्‍चीस हजार हात लामो र बीस हजार हात चौडा हुनेछ ।14 तिनीहरूले त्‍यो बेच्‍नु वा साट्नु हुँदैन । इस्राएलको जमिनको यी पहिलो फलहरूमध्‍ये एउटा पनि यी सिमानबाट छुट्‌याउनु हुँदैन, किनकि यो सबै परमप्रभुको निम्ति पवित्र छ ।15 बाँकी जग्गामा, पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो भागचाहिँ, सहर, घरहरू र खर्कको जमिनको रूपमा प्रयोग हुनेछ । सहरचाहिँ त्‍यसको बीचमा हुनेछ ।16 सहरको नाप यी हुनेछन्ः उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ ।17 सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ । त्‍यो उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात, र पश्‍चिमतिर २५० हात हुनेछ ।18 पवित्र रूपमा अलग गर्ने जमिनको बाँकी क्षेत्र पूर्वमा दश हजार हात र पश्‍चिममा दश हजार हात हुनेछ । त्‍यो अलग गरिएको पवित्र जमिनको सिमानासँग जोडिएर जानेछ, र त्‍यसको उब्जनी त्‍यस सहरमा काम गर्ने मानिसहरूका निम्ति भोजन हुनेछ ।19 त्‍यस सहरमा काम गर्ने मानिसहरू अर्थात् इस्राएलका सबै कुलका मानिसहरूले त्‍यो जमिनमा खेती गर्नेछन् ।20 पवित्र रूपमा अलग गरिएको सबै जमिनको नाप पच्‍चीस हजार लामो र पच्‍चीस हजार चौडा हुनेछ । यसरी सहरको लागि छुट्‌याइएको जमिनसँग जोडिएको जमिनलाई तिमीहरूले पवित्र रूपमा अलग गर्नेछौ ।21 पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ र पश्‍चिममा पश्‍चिमी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ । बीचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्‍यसको बीचमा पवित्र मन्‍दिर हुनेछ ।22 लेवीहरूका जमिनदेखि फैलेको जमिन र त्‍यसको बीचको सहरको क्षेत्र शासकको निम्ति हुनेछ । त्‍यो यहूदाको सिमाना र बेन्‍यामीनको सिमानाको बीचमा हुनेछ । यो जमिन शासकको निम्ति हुनेछ ।23 बाँकी रहेका कुलहरूका बारेमा तिनीहरूका भाग पनि पूर्व देखि पश्‍चिमसम्म रहनेछ । बेन्‍यामीनले एउटा भाग पाउनेछ ।24 बेन्‍यामीनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, शिमियोनले एक भाग पाउनेछ ।25 शिमियोनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, इस्साखारले एक भाग पाउनेछ ।26 इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, जबूलूनले एक भाग पाउनेछ ।27 जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्‍चिमसम्म, एक भाग गादको जमिन हुनेछ ।28 गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्र देशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ ।29 जमिन यही हो जसको निम्ति तिमीहरूले चिट्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।30 सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्ः उत्तरतिर ४,५०० हात लामो हुनेछ,31 इस्राएलका कुलहरूका नाउँमा तीन वटा ढोकाहरू हुनेछन्ः एउटा ढोका रूबेन, अर्को ढोका यहूदा र अर्को ढोका लेवीको लागि हुनेछ ।32 पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तीन वटा ढोकाहरू हुनेछन्ः एउटा ढोका योसेफ, अर्को ढोका बेन्‍यामीन, र अर्को ढोका दानको लागि हुनेछ।33 दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तीन वटा ढोकाहरू हुनेछन्ः एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।34 पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तीन वटा ढोकाहरू हुनेछन्ः एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नप्तालीको लागि हुनेछ ।35 सहरको वरिपरिको दूरी अठार हजार हात लामो हुनेछ । त्‍यस दिनदेखि त्‍यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्‍यहाँ हुनुहुन्‍छ ।”