47
त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिँ मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो ।2 यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो ।3 ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटो हुँदै गोलीगाँठोसम्म पानी आउने ठाउँमा ल्याए ।4 त्यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटो हुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए ।5 त्यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो ।6 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्न सक्छस् ?” र तिनले मलाई बाहिर ल्याए र त्यो नदीको किनारमा हिँडाए ।7 जब म हिँड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए ।8 ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।9 झुन्डमा बस्ने हरेक जीवित प्राणी त्यो पानी जहाँ-जहाँ जान्छ त्यहीँ नै बस्नेछ । त्यहाँ धेरै माछा हुनेछन्, किनकि यो पानी त्यहाँ बग्छ । त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ । त्यो नदी जहाँ-जहाँ जान्छ हरेक कुरा बाँच्नेछ ।10 तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्तो महासमुद्रमा प्रशस्त माछाहरू हुन्छन् ।11 तर खारा समुद्रका दलदल र सिमसार भने ताजा बनाइनेछैन । तिनीहरू नून दिनका निम्ति रहनेछन् ।12 यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् ।13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछः योसेफलाई दुई भाग हुनेछ ।14 मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।15 महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।16 अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बीचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ ।17 यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिँ उत्तरी भाग हुनेछ ।18 पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बीचमा गिलाद र इस्राएल देशको बीचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्नुपर्छ । पूर्वी सिमानाचाहिँ पूर्वी समुद्रसम्म हुनेछ ।19 अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्यसपछि मिश्र देशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिँ दक्षिणको सिमाना हुनेछ ।20 अनि पश्चिमको सिमानाचाहिँ लेबो-हमातको विपरीत, महासमुद्रसम्म हुनेछ । योचाहिँ पश्चिमको सिमाना हुनेछ ।21 यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।22 यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बीचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बीचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैँ तिमीहरूका बीचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिट्ठा हाल्नुपर्छ ।23 अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बीचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”