20
सातौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा इस्राएलका धर्म-गुरुहरू परमप्रभुसित सोधपुछ गर्न आए र मेरो सामु बसे ।2 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,3 "ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के तिमीहरू मसित सोधपुछ गर्न आएका छौ ? जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपुछ गर्नेछैनौ - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।'4 के तैँले तिनीहरूको न्‍याय गर्नेछस् ? ए मानिसको छोरो, के तैँले तिनीहरूको न्‍याय गर्नेछस् ? तिनीहरूका आफ्ना पुर्खाहरूका घिनलाग्दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।5 तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जुन दिन मैले इस्राएललाई छानेँ, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचालेँ र मैले आफूलाई मिश्र देशमा तिनीहरूका बीचमा प्रकट गरेँ । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्नो हात उचालेँ । मैले भनेँ, "म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ" -6 त्‍यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्र देशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्ति मैले होशियारीसाथ छानेको देशमा ल्याउनेछु । त्‍यहाँ दूध र मह बग्दै थियो । यो सबै देशहरू भन्‍दा बढी सुन्‍दर गहना थियो ।7 मैले तिनीहरूलाई भनेँ, "हरेक मानिसले आफ्ना दृष्‍टिबाट घिनलाग्दा कुराहरू र मिश्र देशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।"8 तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्‍न इच्‍छुक भएनन् । हरेक मानिसले आफ्ना दृष्‍टिबाट ती घिनलाग्दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्र देशका मूर्तिहरूलाई नै त्‍यागे । यसैले मिश्र देशको बीचमा तिनीहरूका माझमा मेरो क्रोध शान्‍त पार्नको निम्ति तिनीहरूमाथि मेरो रीस पोख्‍ने निश्‍चय मैले गरेँ ।9 आफ्नो नाउँको खातिर मैले यो काम गरेँ, यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् । तिनीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरेँ ।10 यसैले मैले तिनीहरूलाई मिश्र देशबाट बाहिर निकालेँ र तिनीहरूलाई उजाड-स्थानमा ल्याएँ ।11 तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरेँ । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ ।12 म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून् भनेर तिनीहरू र मेरो बीचमा चिन्हको रूपमा मैले तिनीहरूलाई शबाथ दिनहरू पनि दिएँ ।13 तर इस्राएल घरानाले उजाड-स्थानमा मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनेँ, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्थानमा तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनेछु ।14 तर जुन जातिहरूका दृष्‍टिमा मैले तिनीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याएँ, तिनीहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले काम गरेँ ।15 यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्थानमा एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ । त्‍यो देश सबै देशहरू भन्‍दा सुन्‍दर गहनाको दूध र मह बग्‍ने देश हो ।16 मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे र मेरा विधिहरूमा हिँडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए ।17 तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमाथि दया गरेँ, र मैले उजाड-स्थानमा तिनीहरूको अस्तित्व मेटाइन ।18 उजाड-स्थानमा मैले तिनीहरूका छोराछोरीहरूलाई भनेँ, "तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिँड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।19 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, मेरा विधिहरूमा हिँड, र मेरा नियमहरू मान र पालन गर ।20 मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बीचमा ती एउटा चिन्ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।"21 तर तिनीहरूका छोराछोरीहरूले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिँडेनन्, न त मेरा व्यवस्थाहरू पालन गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्‍त पार्न मैले उजाड-स्थानमा आफ्नो रीस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरेँ ।22 तर मैले आफ्नो हात फर्काएँ, र मेरो नाउँको खातिर काम गरेँ, ताकि मैले इस्राएलीहरूलाई निकालेर ल्याएको देखेका जातिहरूका दृष्‍टिमा त्‍यो अपवित्र नहोस् ।23 तिनीहरूलाई म जातिहरूका बीचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्थानमा एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ ।24 तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरेँ । तिनीहरूका आँखाहरूले आफ्ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।25 तब मैले तिनीहरूलाई यस्ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्‍न सकेनन् ।26 तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरेँ - तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिँड्न लगाए - कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’27 यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्‍वासघाती बनेर मेरो निन्‍दा गरे ।28 जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा मैले तिनीहरूलाई ल्याएँ, तब जहाँ तिनीहरूले कुनै अग्लो डाँडा वा कुनै झ्याम्म पातहरू भएको रूख देखे, त्‍यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए । अनि आफ्ना भेटीहरूद्वारा तिनीहरूले मलाई रीस उठाए, र त्‍यहाँ तिनीहरूले आफ्ना सुगन्धित धूप पनि बाले र आफ्ना अर्घ-बलि चढाए ।29 तब मैले तिनीहरूलाई सोधेँ, "तिमीहरूले भेटी चढाउने गरेको अग्लो ठाउँ के हो ?" आजको दिनसम्म त्‍यो ठाउँलाई बामा भनिन्‍छ ।'30 यसकारण इस्राएलको घरानालाई यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरू आफ्ना पुर्खाहरूका चालमा हिँडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ ? घिनलाग्दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैँ काम गर्छौ ?31 जब तिमीहरू आफ्ना उपहारहरू चढाउँछौ - जब तिमीहरू आफ्ना छोराहरूलाई आगोमा हिँड्न लगाउँछौ - तब आजको दिनसम्म पनि तिमीहरूले आफ्ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपुछ गर्न मैले तिमीहरूलाई किन दिनु ? जस्‍तो म जीवित छु - यो परमप्रभु परमेश्‍वरको घोषणा हो - तिमीहरूले मलाई सोधपुछ गर्न म दिनेछैनँ ।32 तिमीहरूको मनमा उठेको विचार कहिले पूरा हुनेछैन । तिमीहरू भन्‍छौ, "हामीहरू अरू जातिहरू जस्‍तै, काठ र ढुङ्‌गालाई पुज्‍ने अरू देशका जातिहरू जस्‍तै बनौँ ।"33 जस्‍तो म जीवित छु - यो परमप्रभु परमेश्‍वरको घोषणा हो - शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्‍य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्‍याउनेछु ।34 तिमीहरूलाई म अरू जातिहरूका बीचबाट निकालेर ल्याउनेछु , र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्‍याउनेछु ।35 तब म तिमीहरूलाई जातिहरूको उजाड-स्थानमा ल्याउनेछु, र त्‍यहाँ म तिमीहरूको न्‍याय आमने-सामनेमा गर्नेछु ।36 जसरी मिश्र देशको उजाड-स्थानमा मैले तिमीहरूका पुर्खाहरूको न्‍याय गरेँ, त्‍यसरी नै म तिमीहरूको न्‍याय म गर्नेछु - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।37 म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्‍न लगाउनेछु ।38 तिमीहरूका माझबाट विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म हटाउनेछु । तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई बाहिर पठाउनेछु, तर तिनीहरू इस्राएल देशमा पस्‍नेछैनन् । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।39 यसैले ए इस्राएलका घराना, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः तिमीहरू हरेक आ-आफ्नो मूर्तिहरूतिर जानुपर्छ । तिमीहरू मेरो कुरा सुन्‍न इन्कार गर्छौ भने तिनीहरूकै पूजा गर, तर आफ्ना उपहारहरू र मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन ।40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा - यो परमप्रभु परमेश्‍वरको घोषणा हो - इस्राएलका जम्मै घरानाले त्‍यहाँ मेरो आराधना गर्नेछन् । त्‍यहीँ नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबै भन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु ।41 जब म तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्याउँछु र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु, तब म तिमीहरूलाई बास्‍ना आउने धूपझैँ ग्रहण गर्नेछु । जातिहरूका दृष्‍टिमा म तिमीहरूका बीचमा आफैलाई पवित्र प्रकट गर्नेछु ।42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी मैले आफ्ना हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।43 आफ्ना जुन व्यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ, ती त्‍यहाँ तिमीहरूले सम्झनेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्ति आफ्नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ ।44 यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्‍ट कामहरू र तिमीहरूका भ्रष्‍ट कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ - यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।"45 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,46 "ए मानिसको छोरो, आफ्नो अनुहार दक्षिण देशतिर फर्का र दक्षिणको विरुद्धमा बोल् । नेगेभको वनको विरुद्धमा अगमवाणी भन् ।47 नेगेभको वनलाई भन्, 'यो परमप्रभुको घोषणा हो - परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म तेरो माझमा आगो सल्काउनेछु । त्‍यसले तेरा माझमा भएका हरेक हरिया रूख र हरेक सुकेका रूखलाई भस्‍म गर्नेछ । त्‍यो दन्केको ज्वाला निभाइनेछैन । दक्षिणदेखि उत्तरसम्मका हरेक अनुहार जल्नेछन् ।48 जब म आगो सल्काउँछु र त्‍यसलाई निभाइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्‍नेछ' ।"49 तब मैले भने, "धिक्कार ! हे परमप्रभु परमेश्‍वर, तिनीहरूले मलाई यसो भन्‍दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र' ?"