18
फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "इस्राएलका देशको बारेमा तैँले उखान भनेको अर्थ के होः 'बाबुहरू अमिलो अङ्गुर खाने र छोराछोरीहरूका दाँत कुडिँने ?'3 जस्तो म जीवित छु - यो परमप्रभु परमेश्वरको घोषणा हो - इस्राएलमा तिमीहरूलाई फेरि कहिल्यै यो उखान भन्ने अवसर हुनेछैन ।4 हेर, हरेक जीवित प्राण मेरै हो - बुबा र छोरा दुवै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्नेछ !5 एक जना धर्मी र न्यायी तथा धार्मिकता कायम राख्ने मानिसको बारेमा के भन्न सकिन्छ -6 उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्त्रीकहाँ जान्छ । के ऊ धर्मी मानिस हो ?7 यस्तो मानिसको बारेमा के भन्न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र कर्जा लिनेले धितो राखेको सामान कर्जा लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो ?8 यस्तो मानिसको बारेमा के भन्ने, जसले आफूले दिएको कर्जाको ब्याज धेरै लिँदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिँदैन ? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बीचमा विश्वस्तता कायम गर्छ ।9 एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्वाससित मेरा नियमहरू मान्छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्यो निश्चय नै बाँच्नेछ - यो परमप्रभु परमेश्वरको घोषणा हो ।10 तर मानौँ, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्या गर्छ र यी माथि उल्लिखित कुनै पनि काम गर्छ,11 (उसका बुबाले यी कुरामध्ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्छ, र आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्न सकिन्छ र ?12 यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्ना आँखा मूर्तिहरूतिर उचाल्छ, र घिनलाग्दा कामहरू गर्छ,13 र उसले महँगो ब्याजमा रुपियाँ दिन्छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्तो मानिस जीवित रहनुपर्छ ? ऊ निश्चय पनि जीवित रहँदैन । ऊ निश्चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्दा कुराहरू गरेको छ ।14 तर हेर, मानौँ एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्ना बुबाले गरेका सबै पापहरू देख्छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।15 त्यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्ना आँखा लगाउँदैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्न सकिन्छ ?16 त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्धक खोस्दैन वा चोरीका सामानहरू लिँदैन, तर त्यसको साटोमा आफ्नो खानेकुरा भोकालाई दिन्छ, र नाङ्गालाई लुगाले ढाक्छ ।17 त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महँगो ब्याज लिँदैन वा कर्जाबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्छ, र मेरा विधिहरूअनुसार हिँड्छ । त्यो छोरो आफ्नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्चय नै बाँच्नेछ ।18 उसको बुबाले अरूबाट जबरदस्ती लिएर थिचोमिचो गरेको र आफ्नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्यही गरेको कारणले, हेर, ऊ आफ्नो अधर्ममा मर्नेछ ।19 तर तिमीहरू भन्छौ, 'छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नु किन नपर्ने ?' किनकि छोराले न्याय र धार्मिकता पूरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पूरा गर्छ । ऊ निश्चय नै बाँच्नेछ ।20 जसले पाप गर्छ, मर्नेचाहिँ उही हो । छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नेछैन, र बुबाले आफ्नो छोराको अधर्मको फल भोग्नेछैन । ठीक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्टको दुष्ट्याइँ पनि उसमाथि नै रहनेछ ।21 तर कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्याग्छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्चय नै बाँच्नेछ, र मर्नेछैन ।22 उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्झना फेरि गरिनेछैन । उसले अभ्यास गरेको धार्मिकताको कारणले ऊ बाँच्नेछ ।23 के दुष्टको मृत्युमा म खुशी हुन्छु र - यो परमप्रभु परमेश्वरको घोषणा हो - र ऊ बाँचोस् भनी ऊ आफ्नो चाल छोडेर फर्केकोमा खुसी हुन्न र ?24 तर धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, के त्यो बाँच्नेछ र ? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धार्मिकताको कामको सम्झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।25 तर तिमीहरू भन्छौ, 'परमप्रभुको चाल न्यायपूर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्यायपूर्ण छैनन् ? अन्यायपूर्ण त तिमीहरूका चालहरू होइनन् र ?26 जब धर्मी मानिसले आफ्नो धार्मिकता त्याग्छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।27 तर जब दुष्ट मानिस आफूले गरेका दुष्ट कामबाट फर्कन्छ, र न्याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्नो जीवन बचाउनेछ ।28 किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्चय नै बाँच्नेछ, र ऊ मर्नेछैन ।29 तर इस्राएलको घरानाले भन्छ, 'परमप्रभुको चाल न्यायपूर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्यायपूर्ण छैन ? तिमीहरूको चालचाहिँ न्यायपूर्ण छैन ।30 यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्याय उसको चालअनुसार गर्नेछु - यो परमप्रभु परमेश्वरको घोषणा हो । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्ने ढुङ्गाहरू नबनून् ।31 तिमीहरूले गरेका सबै अपराधहरूबाट आफूलाई अलग गर । आफ्ना निम्ति नयाँ हृदय र नयाँ आत्मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना ?32 किनकि मर्नेको मृत्युमा म खुसी हुन्न - यो परमप्रभु परमेश्वरको घोषणा हो - यसैले पश्चात्ताप गर, र बाँच ।